NM Khabar 25 July 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

त्रिवि एमबीएस परीक्षा: प्रश्नपत्र बाहिरियो, स्ववियुद्वारा छानबिनको माग

• त्रिभुवन विश्वविद्यालयको एमबीएस प्रथम वर्षको परीक्षाको प्रश्नपत्र परीक्षा सुरु भएको ६ मिनेटमै बाहिरिएको छ। • विद्यार्थी र स्ववियुले परीक्षा प्रणालीको निष्पक्षतामाथि प्रश्न उठाउँदै तत्काल छानबिन र दोषीमाथि कारबाहीको माग गरेका छन्। • त्रिवि डिनले प्रश्नपत्र लिक नभएको तर विद्यार्थीले मोबाइलमार्फत बाहिर पठाएको दाबी गर्दै छानबिन समिति गठन गर्ने बताएका छन्।
Rohan Tamang
Rohan Tamang
25 July 2026, 8:32 pm १ मिनेट पढाइ
आकार:
त्रिवि एमबीएस प्रश्नपत्र
Share:

काठमाडौँ। त्रिभुवन विश्वविद्यालय (त्रिवि) एमबीएस प्रथम वर्षको परीक्षाको प्रश्नपत्र परीक्षा सुरु भएको छ मिनेटमै बाहिरिएको छ। मास्टर अफ विज्नेस स्टडिज (एमबीएस) को परीक्षा गत बिहीबार १२ बजेदेखि ४ बजेसम्म देशभरका क्याम्पसमा सञ्चालन भएको थियो।

रातोपाटीलाई प्राप्त प्रमाणअनुसार प्रश्नपत्र १२ बजेर ६ मिनेटमा बाहिरिएको देखिन्छ। परीक्षा केन्द्रमा प्रश्नपत्र केही दिनअघि पुग्छ। केन्द्राध्यक्षको रोहवरमा शिलबन्दी खोलेर विद्यार्थीलाई वितरण गरिन्छ। तर, यस घटनामा वितरण भएको प्रश्नपत्र परीक्षा सुरु भएको दुई मिनेटमै सामाजिक सञ्जालमा छ्यापछ्याप्ती भेटियो।

विभिन्न ह्वाट्सएप ग्रुपबाट प्रश्नपत्र लिक भएको प्रमाण सार्वजनिक भएको छ। केही कलेजबाट प्रश्नपत्र लिक भएको विद्यार्थीको गुनासो छ।

त्रिवि स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) ले व्यवस्थापन सङ्कायको ध्यानाकर्षण गराएको छ। स्ववियु सभापति दीपकराज जोशीले परीक्षा सञ्चालन भइरहेकै बेला प्रश्नपत्र बाहिरिएको घटनाले परीक्षा प्रणालीको गोपनीयता, निष्पक्षता र विश्वसनीयतामाथि प्रश्न खडा गरेको बताए।

उनले विद्यार्थीको मेहनत, विश्वास र विश्वविद्यालयको प्रतिष्ठामाथि आँच आउने गतिविधि स्वीकार्य नहुने बताए। उनले दुई दिनभित्र घटनाबारे निष्पक्ष छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्न माग गरेका छन्। प्रश्नपत्र कसरी बाहिरियो र कसको संलग्नता थियो भन्ने स्पष्ट जवाफ दिनुपर्छ। दोषी जोसुकै भए पनि कारबाही नभए व्यवस्थापन सङ्कायका डिन र परीक्षा हेर्ने सहायक डिनले राजीनामा दिनुपर्ने उनको भनाइ छ।

त्रिवि केन्द्रीय क्याम्पस स्ववियु उपसभापति सनम वलीले प्रश्नपत्र लिक भएर भारतमा पनि आन्दोलन चर्किएको बताए। ‘नेपालमा पनि प्रश्नपत्र लिक हुनुले मिहिनेत गर्ने विद्यार्थीमाथि अन्याय भएको छ। यस घटनाले व्यवस्थापन सङ्काय डिन कार्यालयको गम्भीर त्रुटि देखाउँछ,’ उनले भने।

स्ववियुले त्रिवि केन्द्रीय कार्यालयलाई घटनाको यथाशीघ्र छानबिन गर्न माग गरेको छ।

त्रिवि व्यवस्थापन सङ्कायका डिन महानन्द चालिसेले घटनामाथि छानबिन गरिने बताए। उनले प्रश्नपत्र लिक नभई हलमा वितरण भएको प्रश्नपत्र कुनै विद्यार्थीले मोबाइलमार्फत ह्वाट्सएपमा पठाएको बताए। परीक्षा सुरु भइसकेपछि दुई बजेतिर ग्रुपमा आएको देखिएको उनको भनाइ छ। यसका लागि छानबिन समिति गठन गर्ने योजनामा रहेको र कुन परीक्षा केन्द्रमा घटना घट्यो भन्ने अझै पत्ता नलागेको उनले जानकारी दिए। चालिसेले परीक्षा समितिको बैठक छिट्टै बोलाउने बताए।

Rohan Tamang

Rohan Tamang

संवाददाता · NM Khabar

रोहन तामाङ NM खबरका प्रविधि र युवा मामिला संवाददाता हुन्। डिजिटल रूपान्तरण, स्टार्टअप संस्कृति र युवा उद्यमशीलतासम्बन्धी रिपोर्टिङमा उनको विशेष रुचि छ। नेपालको प्रविधि क्षेत्रको वृद्धि र अवसरहरूलाई उजागर गर्न उनी प्रतिबद्ध छन्।

सम्बन्धित समाचार