त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले अध्ययन बिदा लिएर विदेश गई फर्केर सेवामा नजोडिएका प्राध्यापक तथा कर्मचारीहरूलाई १५ दिनभित्र सम्पर्कमा आउन अल्टिमेटम दिएको छ। त्रिविको अध्ययन बिदा सुव्यवस्थापन कार्यान्वयन समितिले सार्वजनिक सूचना जारी गर्दै यस्तो निर्देशन दिएको हो।
समितिका अनुसार, तोकिएको समयसीमाभित्र सम्पर्कमा नआएमा विश्वविद्यालयसँग गरिएको कबुलियतनामा अनुसार कानुनी कारबाही प्रक्रिया अघि बढाइनेछ।
हालसम्म ५० जना प्राध्यापकहरूले ११ करोड ८४ लाख रुपैयाँभन्दा बढी रकम फिर्ता गरिसकेका छन्। यो रकम उनीहरूले अध्ययन बिदाको अवधिमा पाएको तलब भत्ता र त्यसको ब्याजसहित हो। यो प्रक्रिया शिक्षा तथा खेलकुद मन्त्रालयको पहलमा अघि बढाइएको हो।
त्रिविले अध्ययन बिदा दक्ष, अनुसन्धानमुखी र अन्तर्राष्ट्रिय स्तरको प्राज्ञिक जनशक्ति उत्पादन गर्ने उद्देश्यले प्रदान गरिने विशेष सुविधा भएको जनाएको छ। तर, केही प्राध्यापकहरूले यसको दुरुपयोग गरी विश्वविद्यालयलाई आर्थिक, शैक्षिक र प्राज्ञिक क्षति पुर्याएको त्रिविको ठहर छ।
समितिका संयोजक डा. जीवन काफ्लेले यो अन्तिम मौका भएको र यसपटक पनि सम्पर्कमा नआएमा विश्वविद्यालय नेतृत्वलाई प्रतिवेदन बुझाइने बताए। उनले सरकारले समेत यस विषयमा चासो देखाएको र कामलाई प्रभावकारी बनाउन निर्देशन दिएको उल्लेख गरे।
समितिको खोजबिन अनुसार, ३९८ जना प्राध्यापकले अध्ययन बिदाको दुरुपयोग गरेको पाइएको छ, जसबाट विश्वविद्यालयलाई २ अर्बभन्दा बढीको नोक्सानी भएको अनुमान छ। हालसम्म रकम फिर्ता गर्नेमा सांसदहरू पनि छन्। राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा. आनन्द चन्द र नेपाली कांग्रेसका सांसद जगत तिमल्सिनाले अध्ययन बिदाको रकम फिर्ता गरेका छन्।
त्रिविको शिक्षक, कर्मचारी सेवासम्बन्धी नियम २०५० अनुसार, निश्चित अवधिभन्दा बढी अध्ययन बिदा लिने शिक्षकले फर्केर सोही अवधिको कम्तीमा दोब्बर अवधि विश्वविद्यालयमा सेवा गर्नुपर्ने प्रावधान छ। तर, धेरैजसो प्राध्यापकहरू फर्केर सेवा नगरेको पाइएको छ।
