रसुवास्थित त्रिशूली–३ ‘ए’ जलविद्युत आयोजनाको सुरुङभित्रबाट मानिस बोलेको आवाज सुनिएको छ। उद्धारमा खटिएका नेपाली सेनाले सांसद श्रीराम न्यौपानेलाई यो जानकारी दिएका हुन्। यो आवाजलाई आशाजनक संकेत मानिएको छ।
नेपाली सेना र सशस्त्र प्रहरीको उद्धार टोली सुरुङभित्र प्रवेश गरी खोजी तथा उद्धार कार्यलाई तीव्र पारिरहेको छ। सांसद न्यौपानेले सामाजिक सञ्जालमार्फत यो जानकारी दिएका हुन्।
न्यौपाने हिजो साँझसम्म इन्जिनियरको भूमिकामा साइटमै रहेर उद्धार कार्यमा संलग्न थिए। अब सांसदको हैसियतमा हेलिकप्टर प्रयोग नगरी पैदल विदुरसम्म पुग्ने र त्यसपछि गाडीमार्फत काठमाडौं फर्कने तयारीमा छन्।
उनले उद्धारमा खटिएका नेपाली सेना, सशस्त्र प्रहरी, प्राविधिक टोलीलगायत सम्पूर्ण उद्धारकर्मीप्रति सम्मान व्यक्त गरेका छन्। फसेकाहरूको सकुशल उद्धारको खबर छिट्टै सुन्न पाइने आशा उनले व्यक्त गरे।
