NM Khabar 19 May 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

महालेखाको प्रतिवेदन: विपन्न नागरिक उपचार कार्यक्रममा ४ अर्ब ५९ करोड खर्च, मापदण्डमा प्रश्न

• चालु आर्थिक वर्षमा विपन्न नागरिक औषधि उपचार कार्यक्रममा ४ अर्ब ५९ करोड खर्च।• ५३ हजारभन्दा बढी बिरामीले लिए सेवा, क्यान्सर र मिर्गौला रोगी बढी।• महालेखा परीक्षकद्वारा लक्षित वर्ग पहिचानको स्पष्ट मापदण्ड नभएकोमा प्रश्न।
Sarita Pandey
Sarita Pandey
19 May 2026, 5:05 pm १ मिनेट पढाइ
आकार:
Share:

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गत सञ्चालित विपन्न नागरिक औषधि उपचार कार्यक्रममा चालु आर्थिक वर्षमा ५३ हजारभन्दा बढी बिरामीले सेवा लिएका छन्।

महालेखा परीक्षकको प्रतिवेदनअनुसार सो कार्यक्रममार्फत विभिन्न अस्पताललाई कुल ४ अर्ब ५९ करोड ८५ लाख ३२ हजार रुपैयाँ शोधभर्ना गरिएको छ।

प्रतिवेदनले आठ प्रकारका गम्भीर रोगका बिरामीले यो सुविधा लिएको देखाएको छ। जसमा क्यान्सरका २८ हजार ६७८, मिर्गौला रोगी १२ हजार ७३, मुटुरोगी ८ हजार ४१०, स्पाइनल इन्जुरीका १ हजार २५३, हेड इन्जुरीका ९८०, पार्किन्सनका १०८, अल्जाइमर्सका ४४ र सिकलसेल एनेमियाका २ हजार ३१ जना रहेका छन्। कुल ५३ हजार ५७७ बिरामीले सेवा लिएको उल्लेख छ।

स्थानीय तहको सिफारिसमा सेवा उपलब्ध भए पनि महालेखाले ‘विपन्न नागरिक’ पहिचान गर्ने स्पष्ट मापदण्ड नबनाइएको भन्दै प्रश्न उठाएको छ।

आर्थिक रूपमा कमजोर नागरिकलाई लक्षित कार्यक्रम भए पनि लक्षित समूह नै स्पष्ट रूपमा परिभाषित नभएको प्रतिवेदनमा औंल्याइएको छ।

महालेखाले विपन्न नागरिकको परिचयपत्र प्रणाली लागू गर्न, रोगअनुसार लागत विश्लेषण गर्न तथा स्थानीय तहमा स्पष्ट पहिचान संयन्त्र निर्माण गर्न सुझाव दिएको छ।

त्यस्तै, स्थानीय तहसम्म जनचेतना कार्यक्रम विस्तार गरी नागरिकलाई स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध गराउन र स्वास्थ्य सेवालाई एकद्वार प्रणालीमार्फत प्रभावकारी रूपमा सञ्चालन गर्नुपर्ने आवश्यकता पनि प्रतिवेदनमा उल्लेख गरिएको छ।

Sarita Pandey

Sarita Pandey

संवाददाता · NM Khabar

सरिता पाण्डे NM खबरकी नीति र शासन संवाददाता हुन्। कानून, संवैधानिक सुधार र सार्वजनिक नीतिका जटिल विषयहरूलाई सरल भाषामा पाठकसमक्ष पुर्‍याउने उनको क्षमता विशेष छ। काठमाडौं स्कूल अफ लबाट कानून पढेकी उनी नियामक मामिला र न्यायपालिकासम्बन्धी रिपोर्टिङमा दक्ष छिन्।

सम्बन्धित समाचार