ललितपुरको ग्वार्कोस्थित बी एण्ड बी आईभीएफमा एक १७ वर्षीया किशोरीको डिम्ब झिकिएको छ। कक्षा ११ मा अध्ययनरत किशोरीलाई सुरुमा साथीहरूले डिम्ब झिक्दा केही नहुने र पैसा पनि आउने भन्दै प्रलोभनमा पारेका थिए।
‘मैले पनि दुई/तीन पटक दिइसके । यो महिना–महिना दिनमा आफैं खेर जाने चिज हो । केही पनि हुँदैन । पैसा पनि आउँछ’ साथीले आफूलाई भनेको कुरा पीडित किशोरीले बताइन्। पैसा आउने र केही पनि नहुने बताएपछि ती किशोरी तयार भइन्।
त्यसपछि एक एजेन्टको सम्पर्कमा पुर्याइएकी किशोरीलाई थप प्रलोभन देखाइयो। ‘केही पनि हुँदैन, दुखाई पनि हुँदैन । शरीरलाई केही हानी गर्दैन भनेर मलाई फकाइयो’ किशोरीको भनाइ छ। त्यसपछि उनलाई बी एण्ड बी आईभीएफमा लगियो।
किशोरीका अनुसार सुरुमा एउटा इन्जेक्शन लगाइयो र करिब हप्ता/दश दिनपछि डिम्ब निकालियो। इन्जेक्शन लगाएर डिम्ब विकास गराउने र उपयुक्त भएपछि निकाल्ने प्रक्रिया अनुसार असार १४ गते किशोरीबाट डिम्ब झिकियो।
डिम्ब झिकिएपछि किशोरीको शरीरमा एकाएक परिवर्तन आयो र उनी कमजोरीले ढल्नेसम्मको अवस्थामा पुगिन्। शरीरमा समस्या आएपछि किशोरीले सबै कुरा परिवारलाई बताइन् र त्रिवि शिक्षण अस्पतालमा भर्ना गरेर उपचार गरियो।
सुरुमा ५० हजार रुपैयाँ दिने भनिए पनि किशोरीलाई ३० हजार रुपैयाँ मात्रै दिइएको थियो। शरीरमा समस्या आएर उपचार गराउनुपर्दा उल्टै रकम अभाव खेप्नु परेको पीडितको गुनासो छ।
पीडित परिवारले जिल्ला प्रहरी परिसर ललितपुरमा उजुरी दिएको छ। परिसरका प्रवक्ता तथा एसपी गौतम मिश्रले उजुरी आएको र घटनाबारे अनुसन्धान भइरहेको पुष्टि गरे। प्रहरीले मानव बेचबिखन कसुरमा एक जना बिचौलिया, लमजुङ घर भई ललितपुर बस्ने २१ वर्षीया राधिका गोतामेलाई साउन १ गते पक्राउ गरेको छ।
तर पीडित पक्षले भने डिम्ब झिक्न संलग्न चिकित्सकलाई प्रहरीले पक्राउ नगरेकोमा गुनासो पोखेको छ। एसपी गौतमले प्रमाण जुटाएर अनुसन्धान भइरहेको र दोषी देखिएका जो कोही पनि पक्राउ पर्ने दाबी गरे।
यसअघि २०८२ को असारमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले पनि यस्तै डिम्ब तस्करी प्रकरणमा संलग्नहरूलाई पक्राउ गरेको थियो। बबरमहलको होप फर्टिलिटी एन्ड रिसर्च सेन्टर र महाराजगन्जस्थित एन्जल फर्टिलिटी क्लिनिकमार्फत डिम्ब तस्करी भएको भन्दै अनुसन्धान भएको थियो।
त्यो प्रकरणमा पीडित किशोरीहरूलाई ८/१० हजार रुपैयाँ दिने र २० लाखसम्म असुलेर डिम्ब बिक्री गर्ने गरेको खुलेको थियो। सीआईबीले सात जना विरुद्ध मुद्दा चलाउन सिफारिस गरे पनि तत्कालीन महान्यायाधिवक्ताले मुद्दा नचलाउने निर्णय गरेकी थिइन्।
सरकारले निःसन्तान उपचार (आईभीएफ) सेवालाई नियमन गर्न ‘निःसन्तान व्यवस्थापन सेवा सञ्चालनसम्बन्धी मापदण्ड २०८२’ जारी गरेको छ। यसअनुसार एक महिलाले जीवनमा ६ पटकभन्दा बढी डिम्बदान गर्न नपाउने, हरेक दानबीच कम्तीमा तीन महिनाको फरक हुनुपर्ने, डोनरको उमेर २० देखि ३५ वर्षभित्रको हुनुपर्ने र दान गर्नुअघि स्वास्थ्य परीक्षण अनिवार्य हुनुपर्ने व्यवस्था छ। तर यस घटनामा १७ वर्षीया किशोरीलाई प्रलोभनमा पारी डिम्ब झिकिएको छ।
