NM Khabar 6 September 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

रसुवा बाढी: बेपत्ता प्राधिकरणका ४७ कर्मचारीको पहिचानलाई डीएनए परीक्षण सुरु

रसुवाको भोटेकोशी नदीमा आएको बाढीले नेपाल विद्युत प्राधिकरणका ४७ कर्मचारी सम्पर्कविहीन भएका छन्। पहिचानका लागि प्राधिकरणले डीएनए परीक्षण प्रक्रिया सुरु गरेको छ। परिवारजनलाई रगतको नमुना दिन प्राधिकरणले विशेष सूचना जारी गरेको छ।
Laxmi Bhattarai
Laxmi Bhattarai
5 September 2026, 8:02 pm १ मिनेट पढाइ
आकार:
Share:

रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीले नेपाल विद्युत प्राधिकरणका ४७ कर्मचारी अझै सम्पर्कविहीन छन्। प्राधिकरणले बेपत्ता कर्मचारीहरूको पहिचानका लागि ‘डीएनए’ परीक्षणको प्रक्रिया सुरु गरेको छ।

बाढीले माथिल्लो त्रिशुली ३ ए, त्रिशुली ३ बी हब, चिलिमे–त्रिशुलीलगायतका संरचनामा ठूलो क्षति पुर्‍याएको छ। खोज तथा उद्धारका क्रममा हालसम्म माथिल्लो त्रिशुली ३ ए बाट दुई जनाको सकुशल उद्धार गरिएको छ। एक जनाको शव प्राप्त भएको छ। बाँकी ४७ जना कर्मचारीको अवस्था अझै अज्ञात छ।

बेपत्ता हुनेहरूमा इन्जिनियर, सुपरभाइजर, फोरम्यानदेखि सुरक्षा गार्डसम्म छन्। इन्जिनियरहरू दिलिप यादव, राजेन्द्र ढकाल, महेन्द्रविक्रम शाही, र निरजन पांगेनी लगायतका कर्मचारीहरू बेपत्ता छन्। उनीहरू देशका विभिन्न जिल्लाका बासिन्दा हुन्।

नेपाल विद्युत प्राधिकरणले एक विशेष सूचना जारी गर्दै बेपत्ता कर्मचारीका परिवारजनलाई डीएनए परीक्षणका लागि रगतको नमुना उपलब्ध गराउन अनुरोध गरेको छ।

सूचना अनुसार, बेपत्ता व्यक्तिको नजिकको रगतको नाता (बाबु, आमा, छोरा वा छोरी) ले दुई प्रति पासपोर्ट साइजको फोटोसहित नेपाल प्रहरी अस्पताल, महाराजगञ्ज वा आफ्नो नजिकको जिल्ला प्रहरी कार्यालयमा सम्पर्क गरी रगतको नमुना दिनुपर्नेछ।

तथ्यांक संकलनमा सहजताका लागि डीएनए परीक्षणको स्लिप र रिपोर्ट प्राप्त भएपछि त्यसको फोटो ह्वाट्सएप ग्रुपमा पठाइदिन समेत प्राधिकरणले सम्बन्धित परिवारलाई आग्रह गरेको छ।

Laxmi Bhattarai

Laxmi Bhattarai

संवाददाता · NM Khabar

संसद र सरकारी नीतिको क्षेत्रमा एक दशकभन्दा बढी अनुभव भएकी लक्ष्मी भट्टराई NM खबरकी वरिष्ठ संवाददाता हुन्। मन्त्रिपरिषद्का निर्णय, संसदीय बहस र प्रशासनिक मामिलाहरूमा उनको गहन विशेषज्ञता छ।

सम्बन्धित समाचार