नेपालगन्जका जडीबुटी व्यवसायी २५ करोड रुपैयाँ बराबरको १२ टन सल्लाको आँख्ला भारत निकासी नहुँदा ठूलो समस्यामा परेका छन्। शतप्रतिशत निकासी कर मुख्य बाधक बनेको छ।
नेपाल जडीबुटी व्यवसायी सङ्घ, नेपालगन्जका अध्यक्ष टङ्क शर्माले भन्सार निकासी कर छुट भएमा सल्लाको आँख्ला भारत निकासी हुने बताए। व्यवसायीहरूले लगानी गरेर गोदाममा थन्क्याएको सामग्री निकासी हुन नसकेको उनको भनाइ छ।
अध्यक्ष शर्माका अनुसार, सरकारलाई यस विषयमा आग्रह गर्दा पनि समाधान हुन सकेको छैन। करिब ३० वर्ष पुराना सल्लाका रुखबाट निस्कने आँख्लालाई भारतमा श्रीखण्ड जस्तै महत्त्व दिइन्छ। डोटी, डडेलधुरा, बैतडी लगायतका जिल्लाबाट यो आँख्ला नेपालगन्ज ल्याइन्छ।
सल्लाको आँख्ला मात्रै नभई जटामसी, अमला, खिरौला र दालचिनी जस्ता अन्य जडीबुटीहरूको निकासी पनि रोकिएको छ। यी जडीबुटीहरू भारतमा सूचीकृत नहुँदा निकासी हुन नसकेको व्यवसायीहरूले बताएका छन्।
अध्यक्ष शर्माले नेपालमा जडीबुटीबाट प्रशस्त सम्भावना रहे पनि सरकारको ध्यान र चासो नपुगेको गुनासो गरे। नेपालका घरघरमा जडीबुटी उत्पादन भइरहे पनि उचित बजारीकरण र निकासीको व्यवस्थापन हुन सकेको छैन।
