ठमेल र दरबारमार्ग क्षेत्रमा अनैतिक गतिविधिमा संलग्न ४७ विदेशी महिलालाई प्रहरीले देश निकाला गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौंले शुक्रबार आयोजना गरेको पत्रकार सम्मेलनमा प्रहरी उपरीक्षक (एसपी) पवनकुमार भट्टराईले विशेष अपरेसनमा पक्राउ परेका ५७ मध्ये ४७ जनालाई अध्यागमन विभागमार्फत निष्कासन गरिएको जानकारी दिए।
निष्कासित महिला युगान्डा, भियतनाम, थाइल्यान्ड, बैंकक, बंगलादेश, केन्या र इन्डोनेसियाका नागरिक हुन्। बाँकी १० जनामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
एसपी भट्टराईका अनुसार ठमेल, दरबारमार्गजस्ता पर्यटकीय क्षेत्रमा अनैतिक गतिविधिमा विदेशी नागरिक आउने गुनासो आएको थियो। सोही आधारमा प्रहरीले विशेष अभियान चलाएको थियो। केही विदेशीले नेपालमा सस्तो जीवनयापन र रात्रिकालीन अवसर रहेको भन्दै यस्ता गतिविधिमा संलग्न हुने गरेको पाइएको छ।
प्रहरीले अनलाइन बेटिङमा संगठित गिरोह सक्रिय रहेकोसमेत जानकारी दिएको छ। बेटिङमार्फत संकलित रकम हुण्डी र क्रिप्टोबाट विदेश पठाउने नेटवर्कमाथि अनुसन्धान भइरहेको छ। प्रहरीले बेटिङ वेबसाइटको निगरानी, कारोबार अनुसन्धान र संलग्न व्यक्तिको पहिचान तीव्र पारेको छ।
यसैगरी, सार्वजनिक सेवा प्रवाहमा अवरोध पुर्याउने बिचौलियाविरुद्धको अभियानमा काठमाडौं प्रहरीले ३०९ जनालाई पक्राउ गरेको छ। पक्राउ परेका ६१ जनामाथि कानुनी कारबाही अघि बढाइएको एसपी भट्टराईले बताए।
