अधिक तरलता व्यवस्थापनका लागि राष्ट्र बैंकले ६१ दिनमा १ खर्ब रुपैयाँ खिच्दैछ। केन्द्रीय बैंकले निक्षेप सङ्कलन उपकरणमार्फत यो रकम उठाउनेछ।
केन्द्रीय बैंकले सूचनामार्फत जनाएअनुसार, आज अपराह्न ३ बजेसम्म अनलाइन बिडिङ सिस्टममार्फत बोलकबोल हुनेछ। यसबाट उठाइएको रकमको साँवा र ब्याज भुक्तानी आगामी साउन ६ गते गरिनेछ।
कर्जा प्रवाह सुस्त हुँदा बैंकिङ प्रणालीमा अधिक तरलता छ। यसले ब्याजदरमा असर पारिरहेको छ। राष्ट्र बैंकले विभिन्न माध्यमबाट तरलता खिच्ने प्रयास गरिरहेको छ।
बैंक तथा वित्तीय संस्थाले निक्षेप उपकरणमा रकम र ब्याजदर कबुल गर्न सक्छन्। बोलकबोलबाटै यसको ब्याजदर निर्धारण हुनेछ।
न्यूनतम १० करोड रुपैयाँदेखि कुल आह्वान रकमसम्म आवेदन दिन सकिनेछ। कम ब्याजदरलाई प्राथमिकता दिई रकम बाँडफाँड गरिने राष्ट्र बैंकले जनाएको छ।
