पाँचथरको याङ्वरकमा बाढीपहिरोले दुई घर र एक भान्सघर बगाएको छ। महमललाल खवासको बस्ने घर र गोठ तथा कविराज राईको घर पहिरोले बगाएको हो। बलबहादुर खालिङको भान्सघर पनि पहिरोमा परेको छ।
मोबाइल नेटवर्क र विद्युत् अवरुद्ध भएकाले क्षतिको विस्तृत विवरण आउन बाँकी छ। बाढीपहिरोले मध्यपहाडी लोकमार्गको थर्पु-चिवाभञ्ज्याङ खण्ड अवरुद्ध पारेको छ। ठाउँठाउँमा पहिरो खसेको स्थानीयले जानकारी दिएका छन्।
दोभानेमा डाइभर्सन र निर्माणाधीन पुल बगाएको छ। पाँचथर र ताप्लेजुङ जोड्ने इन्द्रावती खोलाको पुलमा क्षति पुग्दा यातायात ठप्प भएको छ।
बाढीले च्याङथापु र चाम्लिङडाँडा जोड्ने झोलुङ्गे पुल, च्याङथापु-एेकराते जोड्ने पुल र नाम्रेक-फलैचा जोड्ने झोलुङ्गे पुलमा क्षति पुर्याएको छ। ओयाम बजार नजिकै पहिरो गएको छ।
पाँचथरको हिलिहाङ र ताप्लेजुङ जोड्ने निर्माणाधीन लिम्बुनी मोटरएबल पुल पनि बगाएको छ। सिँचाइ कुलो, खानेपानी र विद्युत् सेवामा क्षति पुगेको छ।
पाँचथरका प्रहरी प्रमुख डिएसपी अनिश कर्णका अनुसार क्षतिको विवरण संकलन भइरहे पनि फोन सम्पर्कमा समस्या छ। बाढीले अलैँची खेती र खोलाको तटीय क्षेत्रमा रहेका खेतीबारीमा ठूलो क्षति पुर्याएको छ। कावेली र तमोर खोलामा बाढी आएको छ।
