सुदूरपश्चिम र लुम्बिनी प्रदेशका केही स्थानमा आगामी तीन दिनसम्म अधिकतम तापक्रम ३८ डिग्री सेल्सियस वा सोभन्दा बढी रहनेछ। थोरै स्थानमा ४० डिग्री सेल्सियस नाघ्ने सम्भावना छ। जल तथा मौसम विज्ञान विभागले विशेष बुलेटिन जारी गरी सर्वसाधारणलाई सावधानी अपनाउन अनुरोध गरेको छ।
मौसमविद् सञ्जिव अधिकारीका अनुसार लुम्बिनी र सुदूरपश्चिमका तराईमा मध्यम तातो लहर चल्नेछ। पहाडी भेगमा तातो दिनको अनुभव हुनेछ। यही जेठ ६ गते यी प्रदेशका केही स्थानमा ४० डिग्री सेल्सियसभन्दा बढी तापक्रम मापन गरिएको थियो।
कञ्चनपुर, कैलाली, डोटी, बर्दिया, बाँके र दाङ जिल्लामा उच्च जोखिम छ। बैतडी, डडेलधुरा, अछाम, सुर्खेत, सल्यान, रोल्पा, प्युठान, पाल्पा, अर्घाखाँची, रुपन्देही र कपिलवस्तु जिल्लामा पनि सतर्कता अपनाउन भनिएको छ।
तातो हावा र लहरले थकाई, कमजोरी, बढी तिर्खा, टाउको दुख्ने, चक्कर आउने, बेहोस हुने, मांसपेशी दुख्ने र बान्ता हुने जस्ता स्वास्थ्य समस्या निम्त्याउन सक्छ।
गर्मीको समयमा सकेसम्म घरभित्र वा चिसो स्थानमा बस्नुपर्छ। चर्को घाममा बाहिर ननिस्कने, हल्का सुतीका कपडा लगाउने र बाहिर निस्कँदा टाउको छोप्ने वा टोपी लगाउन सुझाव दिइएको छ।
नियमित रूपमा प्रशस्त पानी तथा झोल पदार्थ पिउनुपर्छ। स्वास्थ्यमा समस्या देखिएमा स्वास्थ्यकर्मीको सल्लाह लिन अनुरोध गरिएको छ। विभागले दैनिक मौसम पूर्वानुमान बुलेटिन अद्यावधिक गरी जानकारी लिन आग्रह गरेको छ।
