कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि सार्वजनिक गरेको नीति तथा कार्यक्रममा स्वास्थ्य सेवा सुदृढीकरणका लागि कृत्रिम बौद्धिकता (एआई) मा आधारित एक्स-रे सेवा विस्तार गर्ने महत्त्वाकांक्षी योजना अघि सारेको छ। यसले विशेषगरी क्षयरोग नियन्त्रणमा महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।
नीति तथा कार्यक्रम सार्वजनिक गर्ने प्रदेशहरूमध्ये कोशी प्रदेश पहिलो बनेको छ। प्रदेश सरकारले प्रादेशिक स्वास्थ्य प्रणाली सुदृढीकरण, अत्याधुनिक प्रविधिको प्रयोग र महामारी व्यवस्थापनलाई प्राथमिकतामा राखेको छ।
सार्वजनिक नीति तथा कार्यक्रमको बुँदा नम्बर ६ ले क्षयरोग नियन्त्रणका लागि कृत्रिम बौद्धिकतामा आधारित एआई एक्स–रे सेवा विस्तार र उपचार सुनिश्चित गर्ने उल्लेख गरेको छ। यसबाट रोगको पहिचान र व्यवस्थापनमा सुधार आउने अपेक्षा गरिएको छ।
प्रदेश सरकारले अस्पतालहरूलाई न्यूनतम पचास शय्यामा स्तरोन्नति गरी विशेषज्ञ सेवा विस्तार गर्ने योजना पनि ल्याएको छ। शैलजा आचार्य कोशी प्रादेशिक अस्पताल तथा हृदय केन्द्रको स्तरोन्नति गरिनेछ।
स्थानीय तहका आधारभूत अस्पतालमा गुणस्तरीय स्वास्थ्य सेवा सुनिश्चित गर्न प्राविधिक सहयोग र विज्ञ टोली परिचालन गरिनेछ। स्वास्थ्य आपत्कालीन कार्य सञ्चालन केन्द्रको क्षमता विकास गरी महामारी व्यवस्थापन, अस्पताल पूर्व सेवा र एम्बुलेन्स सेवा सुदृढ बनाइनेछ।
‘मेरो स्वास्थ्य मेरो जिम्मेवारी’ अभियानलाई निरन्तरता दिँदै नसर्ने रोगको रोकथाम, सचेतना, स्क्रिनिङ, उपचार र निगरानी समुदायस्तरसम्म विस्तार गरिनेछ। मानसिक रोग, लागूऔषध दुर्व्यसनी तथा आत्महत्या रोकथाम र उपचारका लागि टेलिमेडिसिन सहितको सेवा प्रदान गरिनेछ।
कोशी प्रदेशका यी नीतिहरूले आधारभूत स्वास्थ्य सेवाको पहुँच सुनिश्चित गर्नेछन्। यसले जटिल रोगको उपचार र अत्याधुनिक प्रविधिको अवलम्बनमा प्रदेशलाई आत्मनिर्भर बनाउने लक्ष्य राखेको छ। बजेट विनियोजनले यी नीतिहरूको कार्यान्वयनको दिशा निर्धारण गर्नेछ।
