कर्णाली प्रदेश सरकारले स्थापनाको आठ वर्षमा कुल ५ अर्ब १ करोड ४६ लाख ८७ हजार रुपैयाँ बराबरको स्थिर सम्पत्ति आर्जन गरेको छ। महालेखा परीक्षकको कार्यालयको पछिल्लो प्रतिवेदनले यो तथ्यांक सार्वजनिक गरेको हो।
सरकारको कुल सम्पत्तिमध्ये मेसिनरी उपकरणको हिस्सा सबैभन्दा ठूलो छ। यसको मूल्य ४ अर्ब २४ करोड ९३ लाख रुपैयाँ छ। यो कुल स्थिर सम्पत्तिको ठूलो अंश हो।
भवन तथा संरचनातर्फ ७ करोड ३६ लाख २७ हजार रुपैयाँ बराबरको सम्पत्ति छ। अन्य स्थिर सम्पत्तिमा ५० करोड ७३ लाख ७३ हजार रुपैयाँ रहेको छ।
यसबाहेक, १८ करोड ३९ लाख ९६ हजार रुपैयाँ बराबरको प्राकृतिक सम्पत्ति र ३ लाख ३९ हजार रुपैयाँ बराबरको बहुमूल्य वस्तु रहेको विवरण महालेखा परीक्षकको कार्यालयलाई उपलब्ध गराइएको छ।
गत भदौ २३ र २४ गते भएको आन्दोलनका क्रममा नष्ट भएको सम्पत्तिको हिसाब मिलान हुन बाँकी छ। महालेखा परीक्षकको कार्यालयले सम्पत्तिको अवस्था र स्वामित्व खुल्ने गरी अभिलेख अद्यावधिक नभएको समेत जनाएको छ।
