नेकपा एमालेका नेता भीम रावलले प्रधानमन्त्री बालेन्द्र शाहको अभिव्यक्ति आपत्तिजनक रहेको भन्दै तत्काल पदबाट राजीनामा दिन माग गरेका छन्। आइतबार सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस लेख्दै उनले संसद्मा झुटा कुरा गर्ने व्यक्ति एकछिन पनि पदमा बसिरहने नैतिक अधिकार नभएको बताए।
रावलले प्रधानमन्त्री शाहले ‘प्रधानमन्त्री भएपछि नेपालले भारतको जग्गा धेरै ठाउँमा मिचेको थाहा पाएँ’ भन्ने अभिव्यक्ति दिनु देशको सार्वभौमसत्ता, अखण्डता र सुरक्षाको प्रमुख जिम्मेवारी बहन गर्ने पदमा बसेर लज्जास्पद कार्य भएको टिप्पणी गरे। नेपालको भौगोलिक अखण्डताको रक्षा गर्ने कुरामा जोड दिनुपर्नेमा उल्टै नेपालले भारतको भूभाग मिचेको भन्ने झुटा कुरा संसदमा गर्ने व्यक्तिलाई प्रधानमन्त्री पदमा एकछिन पनि बसिरहने नैतिक अधिकार नहुने उनको भनाइ छ।
आफ्नो भू–भाग अरू देशलाई सुम्पने किसिमको अभिव्यक्ति संसद्मा दिने व्यक्ति नेपालको प्रधानमन्त्रीको पदमा आसिन हुनु नेपाल र नेपाली जनताको ठूलो दुर्भाग्य भएको रावलले बताए। उनले प्रधानमन्त्रीले भारतको जग्गा नेपालले कहाँ, कति र कहिलेदेखि मिचेको हो भन्ने तत्काल नेपाली जनतालाई जानकारी गराउनुपर्ने माग गरे।
स्वाधीन, स्वाभिमानी र अखण्ड नेपालका देशभक्त नेपाली जनताले तत्काल प्रधानमन्त्रीको जवाफ माग्नुपर्ने भन्दै रावलले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति र त्यसका सांसदहरूको धारणा पनि नेपाली जनताले तत्काल पाउनुपर्ने र जनताले त्यस्तो जवाफ खोज्नुपर्ने बताए।
