नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घको कार्यसमिति स्वतः विघटन भएको छ। अध्यक्ष भुवन गुरुङ नेतृत्वको कार्यसमितिका दुई तिहाइ पदाधिकारीले राजीनामा दिएपछि सङ्घ स्वतः पदमुक्त भएको हो।
जिल्ला प्रशासन कार्यालय, काठमाडौँले सङ्घलाई सोमबार पत्र पठाउँदै विधानको व्यवस्थाबमोजिम कार्यसमिति विघटन भएको पुष्टि गरेको छ। गत वैशाख १५ गते सङ्घका बहुमत पदाधिकारीले राजीनामा बुझाएका थिए। सङ्घको विधानको दफा २ (९) अनुसार राजीनामा दिने पदाधिकारीको सङ्ख्या दुई तिहाइ पुगेको थियो। यसै कारण विधानको दफा २६ को ४ (ख) बमोजिम कार्यसमिति स्वतः विघटन भएको प्रशासनको पत्रमा उल्लेख छ।
कार्यसमिति विघटन भएसँगै सङ्घको सल्लाहकार समितिले गठन गरेको प्रबन्ध समितिलाई जिल्ला प्रशासन कार्यालयले वैधता दिएको छ। प्रशासनले प्रबन्ध समितिलाई विशेष साधारण सभा आह्वान गरी विधान कार्यान्वयनको प्रक्रिया अघि बढाउन निर्देशन दिएको छ।
प्रशासकीय अधिकृत तीर्थराज कटेलद्वारा हस्ताक्षरित पत्रमा प्रबन्ध समितिले गर्ने कार्य, निर्णय र सम्बद्ध विषयमा कार्यालयलाई नियमित लिखित जानकारी गराउन भनिएको छ। प्रशासनले सङ्घको आगामी प्रक्रिया स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउन निर्देशन दिएको छ। विधान र कानुनबमोजिम हुने कार्यमा कसैले बाधा सिर्जना नगर्न सचेत गराइएको छ। निर्देशन विपरीत कार्य गरी अवरोध सिर्जना गरे तत्काल प्रशासनलाई जानकारी दिन आग्रह गरिएको छ।
