वीरेन्द्रनगरबाट करिब ३ करोड रुपैयाँ बराबरको सुनचाँदीका गहनासहित व्यापारी श्यामसुन्दर अग्रवाल पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय सुर्खेतले वीरेन्द्रनगर नगरपालिका–६ राजाचोक नजिकस्थित ‘शिव ईम्पोरिय’ पसलबाट अग्रवाललाई नियन्त्रणमा लिएको हो।
प्रहरी नायब उपरीक्षक कविन्द्रसिंह बोहराका अनुसार अग्रवालबाट नेपाली रुपैयाँ २ लाख १९ हजार ५००, भारतीय रुपैयाँ ८ लाख ११ हजार ९००, नगद गन्ती गर्ने मेसिन एक थान र १८५ थान सुन तथा चाँदीका गरगहना बरामद गरिएको छ। बरामद गरिएका गहनाको अनुमानित मूल्य करिब ३ करोड रुपैयाँ रहेको प्रहरीले जनाएको छ।
सोमबार दिउँसो ४ बजेतिर अग्रवाललाई ‘शिब इम्पोरियम’ नामक पसलबाट पक्राउ गरिएको थियो। पक्राउ परेका अग्रवालमाथि प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
