वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंह लिखत कीर्तेसम्बन्धी कसुरमा ४ लाख र झुट्टा विवरण पेश गरी नागरिकता लिएको कसुरमा १५ हजार रुपैयाँ धरौटीमा रिहा भएका छन्। जिल्ला अदालत पर्साले कुल ४ लाख १५ हजार धरौटी माग गर्ने आदेश दिएको हो।
जिल्ला न्यायाधीश गायत्रीप्रसाद रेग्मीको एकल इजलासले थुनछेक बहसपछि सिंहलाई धरौटीमा छाड्न आदेश दिएको हो। पर्सा प्रहरीले मेयर सिंहलाई ठोरी क्षेत्रबाट पक्राउ गरी अदालतमा पेश गरेको थियो।
गत जेठ १२ गते जिल्ला अदालत पर्साले लिखत कीर्तेसम्बन्धी कसुरमा अनुसन्धानका लागि सिंहविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो। स्थानीय लियाकत अलीको जाहेरीका आधारमा प्रहरीले मेयर सिंहसहित तीन जनाविरुद्ध पक्राउ पुर्जी लिएको थियो।
