जनकपुरधामको जिरोमाइलमा रहेको थोक फलफूल तथा तरकारी बजार उच्च अदालत जनकपुरको आदेशपछि खाली गराइएको छ। उपमहानगरपालिकाले संरचनाहरू हटाउने काम सुरु गरेको छ।
व्यवसायीहरू अदालतको आदेशको सम्मान गर्दै बजार खाली गर्न तयार छन्। तर, उपमहानगरपालिकाले पर्याप्त समय र वैकल्पिक व्यवस्था नगरेको भन्दै उनीहरूले असन्तुष्टि जनाएका छन्। अहिले आँपको मुख्य व्यापारिक सिजन छ। व्यवसायीहरूले बजार स्थानान्तरणका लागि कम्तीमा तीन महिनाको समय मागेका थिए।
जनकपुरधाम फलफूल व्यवसायी महासंघका महासचिव भुवनेश्वर पूर्वेले व्यवसायीहरू बजार सर्न तयार रहँदा पनि औपचारिक सूचनाविना संरचना भत्काएर अन्याय गरिएको बताए। उनले अदालतको परमादेश आउनासाथ नगरपालिकाले डोजर चलाएको आरोप लगाए।
जनकपुरधाम उद्योग वाणिज्य संघका अध्यक्ष सुरेन्द्र भण्डारीले राज्यलाई करोडौँ राजस्व बुझाउने व्यवसायीलाई वैकल्पिक व्यवस्था नगरी विस्थापित गर्नु उचित नभएको बताए। उनले कृषि उत्पादन वितरणसँग जोडिएको क्षेत्र भएकाले राज्यले यसलाई प्राथमिकता दिनुपर्नेमा जोड दिए।
भण्डारीका अनुसार, व्यवसायीहरूका लागि नयाँ स्थान व्यवस्थापन गर्न उपमहानगरपालिकासँग समन्वय भइरहेको छ। तर, जग्गा व्यवस्थापन र करार प्रक्रियाका केही काम बाँकी छन्। उनले वैकल्पिक व्यवस्था नहुँदासम्म बजार नहटाउन आग्रह गरेका थिए।
यसअघि गुठीको जग्गामा रहेको कृषि बजार हटाएपछि व्यवसायीहरूले निजी जग्गा भाडामा लिएर यो फलफूल बजार सञ्चालन गरेका थिए। उक्त जग्गाका धनीहरूबीचको विवाद अदालतसम्म पुगेको थियो। अदालतले जग्गा खाली गराउन आदेश दिएको थियो। सोही आदेशपछि जग्गाधनीले उपमहानगरपालिकाको सहयोगमा बजारका संरचनाहरूमा डोजर चलाएका हुन्।
