मलेसियाले चीनलाई हराएपछि नेपाली पुरुष क्रिकेट टोलीले एसियाली खेलकुदमा स्थान पक्का गरेको छ। जापानमा सेप्टेम्बर-अक्टोबरमा हुने प्रतियोगिताका लागि नेपालको छनोट सम्भावना बलियो बनेको हो।
एसियाली खेलकुद छनोट प्रतियोगिताको समूह ‘ए’ अन्तर्गतको खेलमा मलेसियाले चीनलाई नौ विकेटले पराजित गर्यो। यससँगै मलेसिया पनि एसियाली खेलकुदमा छनोट भएको छ।
सात टोली सहभागी रहेको छनोट प्रतियोगिता दुई समूहमा विभाजित थियो। प्रत्येक समूहका शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन्। चारै सेमिफाइनलिस्टले एसियाली खेलकुदमा स्थान बनाउनेछन्।
कतार प्रतियोगिताबाट बाहिरिएपछि नेपाल रहेको समूह ‘ए’ मा मलेसिया र चीन मात्र थिए। नेपालले यसअघि आइतबार चीनलाई २२१ रनले पराजित गरेको थियो। यससँगै दुवै टोलीले एक-एक खेल जितेका थिए।
समूह विजेताको टुंगो लगाउन नेपाल र मलेसियाबीच बिहीबार अन्तिम खेल हुनेछ।
यसैबीच, नेपाली महिला क्रिकेट टोली भने एसियाली खेलकुदमा छनोट हुन असफल भएको छ। महिला टोली चीनसँग पराजित भएको थियो।
