न्यूयोर्कमा आयोजित संयुक्त राष्ट्रसंघको ८१औँ महासभालाई सम्बोधन गर्दै प्रधानमन्त्री बालेन्द्र शाहले नेपालमा हालै आएको विनाशकारी बाढी र पहिरोलाई विश्वका लागि गम्भीर चेतावनीका रूपमा लिन आग्रह गरेका छन्। उनले यस विपद्लाई ‘हिमालयन सुनामी’ को संज्ञा दिँदै यो कुनै स्थानीय त्रासदी नभई सम्पूर्ण मानवताका लागि सचेतना भएको स्पष्ट पारे।
प्रधानमन्त्री शाहले नेपाल विकास, शान्ति र युवा राष्ट्रका आशाबारे कुरा गर्न चाहेको भए पनि केही साताअघिको विपद्ले देशलाई मृत्यु र विनाशबारे बोल्न बाध्य बनाएको बताए। केही मिनेटमै पुल, सडक, विद्यालय र हजारौँको जीविकोपार्जन बगाएको दृश्यले विश्वलाई झस्काउनुपर्ने उनको भनाइ थियो।
करिब तीन वर्षअघि राष्ट्रसंघका महासचिवले सगरमाथाको छायाँबाट जलवायु संकटबारे दिएको पुकार विश्वभरका वैज्ञानिक र नेपालले सुने पनि अन्तर्राष्ट्रिय राजनीतिक नेतृत्वले त्यसलाई गति र स्तर अनुसार ठोस कार्यमा रूपान्तरण गर्न नसकेको भन्दै शाहले असन्तुष्टि जनाए।
उनले जलवायु परिवर्तनले पग्लिँदो पर्माफ्रस्ट, कमजोर हिमनदी र चट्टान पहिरोको जोखिम बढाएर हिमालयको पारिस्थितिक प्रणालीलाई अस्थिर बनाएकाले यसलाई नेपालको मात्र नभई विश्वकै साझा चुनौतीका रूपमा लिन आह्वान गरे।
प्रधानमन्त्री शाहले जलवायु परिवर्तनको असर कम गर्न बढी योगदान गरेका र स्रोतसाधन भएका देशले बढी जिम्मेवारी लिनुपर्ने बताए। उनले जलवायु न्याय केवल संयुक्त राष्ट्रसंघका दस्तावेजमा लेखिएको सुन्दर शब्दमा सीमित नहुने र नेपालजस्ता देशले बारम्बार विगतको क्षति पुनर्निर्माण गर्न नभई आफ्नो भविष्य निर्माण गर्न पाउनुपर्नेमा जोड दिए।
हिन्दुकुश हिमालय करिब दुई अर्ब मानिसका लागि पानी, कृषि, वातावरण र जीविकोपार्जनको आधार भएको भन्दै हिमालयलाई विश्वको जीवन प्रणालीको महत्वपूर्ण हिस्सा भएको उनको भनाइ थियो। यस सन्दर्भमा शाहले नेपाल, भारत र चीनको नेतृत्वमा ‘हिमाली जलवायु उत्थानशीलता संयन्त्र’ स्थापना गर्न प्रस्ताव गरे। यस संयन्त्रमार्फत भूउपग्रहबाट प्राप्त तथ्यांक र प्राविधिक ज्ञान आदानप्रदान गर्ने, जोखिमयुक्त हिमतालको निगरानी गर्ने तथा संयुक्त पूर्वसूचना प्रणाली बलियो बनाउने प्रस्ताव उनले राखे। विपद्का बेला सीमापार सहयोग समन्वय गर्न पनि उनले आग्रह गरे।
शाहले नेपालले वन क्षेत्र विस्तार, जलविद्युत् विकास, विद्युतीय सवारीको प्रयोग र स्थानीय तहमा जलवायु अनुकूलनका काम अघि बढाइरहेकोमा जोड दिए। तर जलवायु संकटसँग जुध्न नेपालले मात्र प्रयास गरेर सम्भव नहुने उनको भनाइ थियो। उनले विपद्पछि आवश्यक राहत, पुनःस्थापना र पुनर्निर्माणसँगै जिम्मेवारी, क्षतिपूर्ति र उत्थानशीलतामा पनि ध्यान दिनुपर्ने बताए। जलवायुजन्य विपदबाट प्रभावित गरिब देशलाई थप ठूलो ऋण दिनुभन्दा अनुदानमा आधारित सहयोग आवश्यक रहेको शाहले बताए। ‘लस एन्ड ड्यामेज फन्ड’ लगायतका अन्तर्राष्ट्रिय जलवायु वित्तीय संयन्त्रको सहयोग अहिले पनि पर्याप्त नभएको उनको भनाइ थियो। संकटमा परेका देशलाई लामो प्रशासनिक प्रक्रिया पूरा गराएर सहयोग ढिला गर्न नहुनेमा पनि उनले जोड दिए।
यसैगरी, प्रधानमन्त्री शाहले गत फागुन २१ गते सम्पन्न निर्वाचन नेपालको इतिहासमै सबैभन्दा शान्तिपूर्ण र निष्पक्ष भएको दाबी पनि राष्ट्रसंघीय महासभालाई सम्बोधन गर्ने क्रममा गरेका थिए।
