NM Khabar 5 June 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

फ्लाइ दुबईले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान भर्न इच्छा व्यक्त गर्‍यो

विश्वको प्रमुख हवाई सेवा प्रदायक कम्पनी फ्लाइ दुबईले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान भर्न इच्छा व्यक्त गरेको छ। यस सम्बन्धमा फ्लाइ दुबईका उड्डयन सुरक्षा उपाध्यक्ष एड्रियन लुकाज र पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यबीच भेटवार्ता भएको छ। २२ अर्बभन्दा बढी लगानीमा बनेको विमानस्थल हालसम्म नियमित अन्तर्राष्ट्रिय उडानविहीन छ।
Laxmi Bhattarai
Laxmi Bhattarai
3 June 2026, 7:47 am १ मिनेट पढाइ
आकार:
पोखरा विमानस्थल फ्लाइ दुबई
Share:

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्ने विषयमा विश्वको प्रमुख हवाई सेवा प्रदायक कम्पनी फ्लाइ दुबईले चासो देखाएको छ। फ्लाइ दुबईका उड्डयन सुरक्षा उपाध्यक्ष एड्रियन लुकाजले पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग मंगलबार भेटवार्ता गर्दै विमानस्थलमा उडान भर्न इच्छुक रहेको बताएका हुन्।

भेटवार्तामा दुबई र पोखराबिच पर्यटन प्रवर्द्धनको सम्भावना खोजी गर्ने, हवाई उडानका क्रममा परिपालना गर्नुपर्ने सुरक्षा मापदण्ड लगायत दुई पक्षीय हितका विषयमा छलफल भएको थियो। २० वर्षभन्दा बढी उड्डयन अनुभव भएका लुकाजले फ्लाइ दुबईले पोखरासँग उडानमार्फत जोडिन पाएमा समग्र पोखरा र यस क्षेत्रको पर्यटनका लागि सुखद हुने बताए।

महानगर प्रमुख आचार्यले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान सञ्चालनका लागि निरन्तर पहल भइरहेको र दुई देशबीचको पर्यटन आदानप्रदानमा सिधा उडानको भूमिका महत्त्वपूर्ण हुने बताए। उनले नेपाल सरकारसँग पटक पटक संवाद गरेको र विशेष समयमा चार्टर उडान सञ्चालन भइरहेकाले विमानस्थल अन्तर्राष्ट्रिय उडान भर्न सक्षम रहेको दाबी गरे।

‘पोखराबाट अन्तर्राष्ट्रिय उडान सम्भव छ भन्ने कुरा विभिन्न समयमा भएका चार्टर उडानबाट प्रमाणित भइसकेको छ। पोखरा पर्यटनको राजधानी सहर भएकाले अन्तर्राष्ट्रिय बजारमा प्रवर्द्धन गर्नका लागि पनि अन्तर्राष्ट्रिय उडानहरू आवश्यक छ,’ प्रमुख आचार्यले भने, ‘आजको भेटले पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्ण क्षमतामा सञ्चालन गर्न सहयोग पुग्ने विश्वास बढाएको छ।’

चीनको सहयोगमा २२ अर्बभन्दा बढी लगानीमा निर्मित यो विमानस्थल २०७९ पुस १७ गते उद्घाटन भएको थियो। उद्घाटन यता हालसम्म नियमित अन्तर्राष्ट्रिय उडान सुरु हुन सकेको छैन र यो विमानस्थल आन्तरिक उडानमा मात्र सीमित छ।

Laxmi Bhattarai

Laxmi Bhattarai

संवाददाता · NM Khabar

संसद र सरकारी नीतिको क्षेत्रमा एक दशकभन्दा बढी अनुभव भएकी लक्ष्मी भट्टराई NM खबरकी वरिष्ठ संवाददाता हुन्। मन्त्रिपरिषद्का निर्णय, संसदीय बहस र प्रशासनिक मामिलाहरूमा उनको गहन विशेषज्ञता छ।

सम्बन्धित समाचार