पोखरा बसपार्क क्षेत्रका ५७२ सुकुम्बासी र भूमिहीन परिवारलाई स्थानान्तरण गर्न महानगरपालिकाले जग्गा खोजिरहेको छ। जेठ १२ गते गठित सात सदस्यीय जग्गा व्यवस्थापन समितिले सम्भावित स्थलगत अध्ययन गरिरहेको छ।
समितिका संयोजक वडा १७ का वडाध्यक्ष राधिका शाही योगीले १० दिनभित्र प्रतिवेदन बुझाउने बताइन्। महानगरपालिकाले बसपार्कको अतिक्रमित जग्गा खाली गराएर आधुनिक बसपार्क बनाउने योजना छ।
महानगरपालिकाले सुकुम्बासी परिवारको लगत छानबिन गरिरहेको छ। वास्तविक भूमिहीनलाई स्थानान्तरण गरेर बसपार्कको जग्गा खाली गराउने तयारी छ।
पोखरा उपत्यका नगर विकास समितिले बसपार्क क्षेत्रका पसल र संरचना १५ दिनभित्र हटाउन सूचना जारी गरेको छ। अवधिभित्र नहटाए समिति आफैँले हटाउनेछ। लागत सम्बन्धित पक्षबाट असुल गरिनेछ।
विसं २०३२ मा बसपार्कका लागि २०५ रोपनी जग्गा अधिग्रहण भएको थियो। हाल अतिक्रमणले उक्त जग्गा ६० रोपनीमा सीमित छ।
