NM Khabar 12 June 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

८१ जनाविरुद्ध २३ अर्बको मुद्दा: भट्ट, अग्रवाल, गोल्छासहित ठूला व्यवसायी मुछिए

इन्फिनिटी होल्डिङ्सका अध्यक्ष दीपक भट्ट, शंकर ग्रुपका साहिल अग्रवाल, शेखर गोल्छासहित ८१ जनाविरुद्ध २३ अर्बभन्दा बढी बिगो दाबीसहित तीन फरक मुद्दा दायर गरिएको छ। सम्पत्ति शुद्धीकरण, बैंकिङ कसुर र धितोपत्रसम्बन्धी कसुरमा उनीहरूलाई आरोपी बनाइएको छ। जगदम्बा स्टिल्सले लिएको कर्जा दुरुपयोग गरी सेयर लगानीमा प्रयोग गरेको र नक्कली बैनापत्र तयार गरेको आरोप छ।
Sunita Rai
Sunita Rai
12 June 2026, 8:47 am १ मिनेट पढाइ
आकार:
२३ अर्बको मुद्दा
Share:

इन्फिनिटी होल्डिङ्सका अध्यक्ष दीपक भट्टसहित ८१ जनाविरुद्ध २३ अर्ब रुपैयाँभन्दा बढी बिगो दाबीसहित तीन फरक प्रकृतिका मुद्दा दायर भएका छन्। सम्पत्ति शुद्धीकरण, बैंकिङ कसुर र धितोपत्रसम्बन्धी कसुरमा उनीहरूविरुद्ध मुद्दा चलाइएको हो।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको सिफारिसमा विशेष सरकारी वकिलको कार्यालयले भट्टसहित ३९ जनाविरुद्ध करिब २२ अर्ब ३९ करोड बिगो दाबीसहित विशेष अदालतमा मुद्दा दर्ता गरेको छ। यसमा जगदम्बा होल्डिङ्सका अध्यक्ष साहिल अग्रवाल, उनकी पत्नी सुभी अग्रवाल, शंकर ग्रुपका अध्यक्ष शंकरलाल अग्रवाल, नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष शेखर गोल्छा, जावलाखेल ग्रुपका प्रबन्ध निर्देशक राजबहादुर शाह लगायतलाई आरोपी बनाइएको छ।

सेयर बजारमा संगठित रूपमा चलखेल गरी करोडौं ठगी गरेको आरोपमा व्यवसायी, बिमा कम्पनीका पदाधिकारी र ब्रोकरसहित ८१ जनाविरुद्ध काठमाडौं जिल्ला अदालतमा करिब १ अर्ब १४ करोड बिगो दाबीसहित मुद्दा दायर भएको छ। जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले धितोपत्रसम्बन्धी ऐन, २०६३ अन्तर्गत यो मुद्दा दर्ता गरेको हो।

यस मुद्दामा मुख्य प्रतिवादीमा इन्फिनिटी होल्डिङ्सका अध्यक्ष दीपक भट्ट, हिमालयन रिइन्स्योरेन्सका तत्कालीन अध्यक्ष शेखर गोल्छा, हिमालयन लाइफ इन्स्योरेन्सका अध्यक्ष सुलभ अग्रवाल तथा भृकुटी स्टक ब्रोकिङका कार्यकारी अध्यक्ष सन्दीप चाचन अग्रवाललगायत छन्। अधिकांश प्रतिवादी फरार छन्।

बैंकिङ कसुरमा इन्फिनिटी होल्डिङ्सका अध्यक्ष दीपक भट्टसहित चार जनाविरुद्ध करिब ४२ करोड रुपैयाँभन्दा बढी बिगो दाबीसहित उच्च अदालत पाटनमा मुद्दा दायर भएको छ। विशेष सरकारी वकिल कार्यालयले भट्ट, जगदम्बा स्टिलका अध्यक्ष साहिल अग्रवाल, शंकरलाल अग्रवाल र सुलभ अग्रवालविरुद्ध यो मुद्दा दर्ता गरेको हो।

अभियोगपत्रमा दीपक भट्ट, शुलभ अग्रवाल र साहिल अग्रवालले बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ को दफा ८ अन्तर्गतका कसुर गरेकाले ४२ करोड १४ लाख ८८ हजार बिगोसहित कैद जरिवाना माग गरिएको छ। शंकरलाल अग्रवाललाई मुख्य प्रतिवादीहरूलाई कर्जा दुरुपयोगमा अप्रत्यक्ष सहयोग गरेको भन्दै सजाय माग गरिएको छ।

जगदम्बा स्टिल्सले विभिन्न बैंकबाट लिएको कर्जाको करिब ५४ करोड ५० लाख रुपैयाँ दीपक भट्टको सिद्धार्थ बैंकस्थित व्यक्तिगत खातामा स्थानान्तरण भएको र उक्त रकम सेयर लगानीमा प्रयोग भएको पाइएको छ। बैंक तथा नियामक निकायलाई झुक्याउन जग्गा खरिदसम्बन्धी नक्कली बैना कागजात तयार गरिएको निष्कर्ष सिआइबीले निकालेको छ।

Sunita Rai

Sunita Rai

संवाददाता · NM Khabar

सुनिता राई NM खबरकी अर्थ संवाददाता हुन्। नेपाल राष्ट्र बैंकका नीतिहरू, शेयर बजार, विदेशी मुद्रा सटही दर र व्यापार सन्तुलनका विषयमा उनको गहिरो बुझाइ छ। पूर्वाञ्चल विश्वविद्यालयबाट अर्थशास्त्रमा स्नातक गरेकी उनी वित्तीय नीति र बैंकिङ क्षेत्रको विश्लेषणमा सक्रिय छिन्।

सम्बन्धित समाचार