झापाको कचनकवल गाउँपालिका–५ पाठामारीस्थित दशगजामा लगाइएको सुनकोशी चिया बगानका ६५ वटा बोट शुक्रबार हटाइएको छ। नेपाल–भारत संयुक्त सीमा सुरक्षा गस्ती टोलीले दशगजा क्षेत्र खाली गराउन यी बोटहरू हटाएको हो।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी विजय चौहानका अनुसार दशगजा क्षेत्रमा कुनै पनि संरचना वा खेती गर्न पाइँदैन। सोही नियमअनुसार सुनकोशी चिया बगानका बोटहरू हटाइएको हो।
नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र भारतीय सीमा सुरक्षा बल (एसएसबी) को संयुक्त गस्ती टोलीले दशगजा क्षेत्रको अनुगमन गरी बोटहरू हटाएको थियो।
यसैबीच, बिर्तामोडमा नेपाल र भारतबीच सीमा सम्बन्धी द्विपक्षीय फिल्ड सर्भे बैठक सम्पन्न भएको छ। झापाका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले नेपाली टोलीको नेतृत्व गरे। किशनगञ्जका जिल्ला अधिकारी विशाल राजले भारतीय टोलीको नेतृत्व गरेका थिए।
नापी विभाग काठमाडौँको आयोजनामा भएको बैठकमा इलाम, पाँचथर र ताप्लेजुङका प्रमुख जिल्ला अधिकारीहरू सहभागी थिए। नेपाल प्रहरी, सशस्त्र प्रहरी बलका जिल्ला प्रमुखहरू, एसएसबीका सीमावर्ती जिल्लाका प्रमुखहरू र जिल्ला वन कार्यालयका प्रमुखहरूको पनि उपस्थिति थियो।
