जनकपुरका लागि उडेको बुद्ध एयरको जहाजको ल्यान्डिङ गियरमा प्राविधिक समस्या देखिएपछि आकस्मिक रुपमा काठमाडौं फर्काइएको छ।
सोमबार बिहान करिब ७:०५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान भरेको जहाजमा समस्या पहिचान भएपछि बीचैमा फर्काइएको हो।
प्राविधिक समस्याका कारण जहाजलाई आपत्कालीन अवस्थामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सुरक्षित अवतरण गराइएको छ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता सञ्जय कुमारले जहाजमा समस्या देखिएपछि काठमाडौं फर्काएर सुरक्षित अवतरण गराइएको र अवस्था सामान्य रहेको जानकारी दिए। उनका अनुसार जहाजमा सवार सबै यात्रु र चालक दलका सदस्य सकुशल छन्।
जहाजमा देखिएको प्राविधिक समस्याको थप परीक्षण भइरहेको छ। प्रभावित यात्रुहरूलाई गन्तव्यसम्म पुर्याउन वैकल्पिक व्यवस्था मिलाउने तयारी भइरहेको विमानस्थलले जनाएको छ।
