खोटाङको विकट गाउँमा हुर्किएका दीपेश कार्की भारतको अग्रणी ‘पियर–टु–पियर लेन्डिङ’ प्लेटफर्म लेन्देनक्लबका सहसंस्थापक हुन्। उनको कम्पनीले हाल ३ करोडभन्दा बढी ग्राहकलाई सेवा दिन्छ।
हालै नेपालस्थित भारतीय दूतावासमा उनले भारत सरकारको छात्रवृत्ति र त्यहाँको अध्ययनले आफ्नो उद्यमशीलता यात्रालाई कसरी आकार दियो भन्ने अनुभव साटे।
शिक्षक परिवारमा जन्मिएका दीपेशको बाल्यकाल विराटनगरमा बित्यो। बुवाआमाले खेतीपाती गरेर उनलाई राम्रो शिक्षा दिए।
सानैदेखि ग्याजेट र हवाईजहाजमा रुचि राख्ने दीपेश पाइलट बन्न चाहन्थे। तर, परिवारको आर्थिक अवस्थाले त्यो सम्भव थिएन।
सन् २००७–०८ मा कम्पेक्स छात्रवृत्ति पाएपछि उनको जीवनले नयाँ मोड लियो। उनले भारतको नेसनल इन्स्टिच्युट अफ टेक्नोलोजी (एनआईटी) कुरुक्षेत्रमा इलेक्ट्रोनिक्स एन्ड कम्युनिकेसन इन्जिनियरिङ पढ्ने पूर्ण छात्रवृत्ति पाए।
एनआईटी कुरुक्षेत्रपछि उनले उद्यमशीलताको बाटो रोजे। सुरुमा ‘पाइपआइसो’ नामक इन्जिनियरिङ सफ्टवेयरको सहस्थापना गरे। पछि भाविन पटेलसँग मिलेर ‘लेन्देनक्लब’ सुरु गरे। यो अहिले विश्वकै ठुला पियर–टु–पियर लेन्डिङ प्लेटफर्ममध्ये एक हो।
लेन्देनक्लबको प्रेरणा उनले गाउँको बाल्यकालबाट पाए। गाउँमा बैंक नहुँदा मानिसहरू विश्वासिला छिमेकी र समुदायबाट ऋण लिन्थे। यही परम्परागत अवधारणालाई प्रविधिको माध्यमबाट आधुनिकीकरण गरी ठुलो स्तरमा लैजाने प्रयास नै लेन्देनक्लब हो।
कुरुक्षेत्रमा उनले भारतभरिका विद्यार्थी, गैरआवासीय भारतीय र विदेशी विद्यार्थीहरूसँगै उन्नत प्रयोगशाला र नयाँ प्रविधिहरूसँग साक्षात्कार गरे। उनले ‘सूर्यकिरण एरोमोडेलिङ क्लब’को संस्थापक सदस्य बनेर उड्डयनप्रतिको बाल्यकालको सपनालाई पुनः जोडे।
भारतको स्टार्टअप इकोसिस्टम र डिजिटल रूपान्तरणले कम्पनीलाई हुर्काउन महत्त्वपूर्ण भूमिका खेलेको दीपेश बताउँछन्। भारतमा डिजिटल पहिचान, वित्तीय समावेशीकरण र डिजिटल भुक्तानी पूर्वाधारले सेवा प्रवाहको तरिका परिवर्तन गर्यो।
उनले विद्यार्थीहरूलाई छात्रवृत्तिलाई केवल डिग्री हासिल गर्न नभई दायरा फराकिलो बनाउन प्रयोग गर्न सुझाव दिन्छन्। ‘विश्वव्यापी रूपमा सिक, विश्वव्यापी रूपमा निर्माण गर र आफ्नो ठाउँमा योगदान देऊ,’ उनले भने।
नेपालमा अथाह सम्भावना रहेको भन्दै दीपेशले अबको अध्याय नवप्रवर्तन, अनुसन्धान र उद्यमशीलताको हुनुपर्नेमा जोड दिए। ‘हामीले नेपाललाई विश्वस्तरीय विद्वान, अनुसन्धानकर्ता, नवप्रवर्तक र उद्यमी उत्पादन गर्ने देशका रूपमा चिनाउनुपर्छ,’ उनले भने।
