भारतबाट नेपाल भित्रिने सामानमा अनिवार्य भन्सार शुल्क लागू भएपछि नेपालगञ्ज भन्सार कार्यालयको राजस्व सङ्कलनमा ठूलो वृद्धि भएको छ। एक सय रुपैयाँभन्दा बढी मूल्यका सामानमा भन्सार नीति कडाइका साथ लागू गरिएसँगै विगतका महिनाहरूको तुलनामा राजस्वमा उल्लेख्य सुधार आएको नेपालगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत जनार्दन पौडेलले जानकारी दिए।
भन्सारमा कडाइ गरिएपछि चैत र वैशाख महिनामा राजस्व सङ्कलनमा ठूलो वृद्धि देखिएको छ। फागुन महिनामा रु एक अर्ब ९३ करोड ३८ लाख १९ हजार राजस्व सङ्कलन भएकोमा चैतमा रु दुई अर्ब १४ करोड २५ लाख ५४ हजार र वैशाखमा रु एक अर्ब ८४ करोड २८ लाख २१ हजार राजस्व सङ्कलन भएको छ।
सीमापारिको भारतीय बजार रुपैडिहामा किनमेल गर्न जाने नेपाली उपभोक्ताको प्रवृत्तिलाई निरुत्साहित गर्ने उद्देश्यले नाकामा कडाइ गर्दा राजस्व वृद्धि हुनुका साथै नेपालगञ्जको व्यापार व्यवसायसमेत फस्टाउँदै गएको पौडेलले बताए।
चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो १० महिना अवधिमा नेपालगञ्ज भन्सार कार्यालयले वार्षिक लक्ष्यभन्दा करिब ६८ प्रतिशत बढी राजस्व सङ्कलन गरेको छ। यस आवका लागि रु २४ अर्ब ५४ करोड ५७ लाख ८२ हजार वार्षिक लक्ष्य निर्धारण गरिएकोमा वैशाख मसान्तसम्म रु १६ अर्ब ७३ करोड ९७ लाख ५९ हजार राजस्व असुली भएको छ, जुन लक्ष्यको ६८.२ प्रतिशत हो।
नेपालगञ्ज उद्योग वाणिज्य सङ्घका वरिष्ठ उपाध्यक्ष चिरञ्जीवी ओलीले सीमा नाकामा कडाइ गरिएपछि धेरै उपभोक्ता सीमापारि जान छाडेकाले स्थानीय नेपाली बजार चलायमान बन्न थालेको बताए।
