नक्कली भुटानी शरणार्थी प्रकरणमा चलिरहेको मुद्दा ‘हेर्दाहेर्दै’मा राखिएको छ। जिल्ला अदालत काठमाडौंमा जारी सुनुवाइ निष्कर्षमा नपुगेपछि बुधबारसम्मका लागि स्थगित गरिएको हो।
न्यायाधीश तेजबहादुर खड्काको इजलासमा गत जेठ २७ गतेदेखि लगातार सुनुवाइ भइरहेको छ। फाइल अध्ययन र बहसका लागि थप समय आवश्यक परेकाले सुनुवाइ स्थगित गरिएको अदालतले जनाएको छ।
ठूलो संख्यामा कानुन व्यवसायीहरूले बहसका लागि नाम दर्ता गराएका छन्। अदालतले बहसलाई व्यवस्थित बनाउन समय सीमित गर्ने र प्रक्रिया छोट्याउने विषयमा कानुन व्यवसायीहरूसँग समन्वय गरिरहेको छ।
यस प्रकरणमा नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाई अमेरिका पठाउने प्रलोभन देखाएर करोडौं रुपैयाँ ठगी गरिएको आरोप छ।
कुल ३० जना विरुद्ध किर्ते, ठगी, संगठित अपराध तथा राज्यविरुद्धको अपराध अन्तर्गत मुद्दा दर्ता गरिएको थियो। आरोपितहरूमा पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्व गृहमन्त्री बालकृष्ण खाँण, तत्कालीन गृह सचिव टेकनारायण पाण्डे लगायत उच्च पदस्थ व्यक्ति र बिचौलियाहरू समावेश छन्।
मुद्दा दर्ता हुँदा पक्राउ परेका केही अभियुक्त थुनामा पठाइएका थिए। केही धरौटीमा रिहा भएका छन्। केही आरोपी अझै फरार रहेका छन्।
पछिल्लो दुई वर्षदेखि प्राथमिकतामा नपरेको यो मुद्दा अहिले अदालतले निरन्तर सुनुवाइ गरिरहेको छ। यसलाई नेपालको पछिल्लो समयको चर्चित ठगी प्रकरणमध्ये एक मानिएको छ।
