NM Khabar 16 June 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

जन्तेढुङ्गामा अभिभावकविहीन बालबालिकाको सहारा: लक्ष्मी आवासीय विद्यालय

खोटाङको जन्तेढुङ्गा गाउँपालिकाले लक्ष्मी आवासीय माध्यमिक विद्यालयमा १३६ विद्यार्थीलाई आवासीय शिक्षा प्रदान गरिरहेको छ। यस कार्यक्रमले १३ जना बेसहारा, ११ जना विपन्न र तीन जना टाढाका विद्यार्थीलाई लक्षित गरेको छ। गाउँपालिकाले वार्षिक १८ लाख बजेट विनियोजन गरी खाना, खाजा, लत्ताकपडा र शैक्षिक सामग्रीसहित आवासको व्यवस्था गरेको छ।
Maya Thapa
Maya Thapa
16 June 2026, 6:33 pm १ मिनेट पढाइ
आकार:
जन्तेढुङ्गा आवासीय विद्यालय
Share:

खोटाङको जन्तेढुङ्गा गाउँपालिका–३ काहुलेमा सञ्चालित लक्ष्मी आवासीय माध्यमिक विद्यालयमा यस शैक्षिक सत्रमा १३६ जना विद्यार्थी भर्ना भएका छन्। भर्ना भएकामध्ये १३ जना बेसहारा, ११ जना विपन्न र तीन जना टाढाका विद्यार्थी छन्।

गाउँपालिकाले गरिब, दलित र असहाय बालबालिकालाई निःशुल्क आवासीय शिक्षा उपलब्ध गराउन यो विद्यालयलाई आर्थिक सहयोग गर्दै आएको छ। तीन वर्षदेखि निरन्तर सहयोग प्राप्त गरिरहेको यस विद्यालयमा हाल २९ जना विद्यार्थी आवासीय रूपमा अध्ययनरत छन्। यीमध्ये दुई जनाले शुल्क तिरेर पढिरहेका छन्।

विसं २०१४ मा स्थापना भएको यस विद्यालयमा सञ्चालित निःशुल्क आवासीय शिक्षा कार्यक्रम प्रभावकारी बन्दै गएको शिक्षक जीवन राईले बताए। कार्यक्रमअन्तर्गत हाल कक्षा २ मा दुई, कक्षा ३ मा एक, कक्षा ४ मा सात, कक्षा ५ मा पाँच, कक्षा ६ मा चार, कक्षा ७ मा आठ जना र कक्षा १० मा बाँकी विद्यार्थी अध्ययनरत छन्।

“विद्यालयमा सञ्चालित यस कार्यक्रममा अधिकांश बुबाआमा नभएका विद्यार्थी अध्ययनरत छन्”, राईले भने, “चाडपर्व तथा विशेष अवसरमा उनीहरूसँगै बसेर मनोरञ्जन गर्छौँ। आवासी शिक्षा कार्यक्रम प्रभावकारी बन्दै गएपछि दुई जना विद्यार्थीका अभिभावकले शुल्क तिरेर राख्नुभएको छ।”

विद्यालयका प्रधानाध्यापक कृष्णबहादुर राईका अनुसार उदयपुरका एक बेसहारा विद्यार्थीसमेत यस आवासीय शिक्षा कार्यक्रममा अध्ययन गरिरहेका छन्। आवासमा बस्ने विद्यार्थीका लागि तीन वटा कक्षाकोठालाई आवासका रूपमा प्रयोग गरिएको छ। हाल १० जना छात्रा आवासमा छन्। विद्यार्थीलाई आवश्यकतानुसार समूहमा विभाजन गरी छुट्टाछुट्टै राखिएको छ। रेखदेख, पठनपाठन तथा खेलकुदका लागि २४सै घण्टा समय दिने गरिएको छ।

कक्षा १० सम्म पठनपाठन हुने यस विद्यालयमा सञ्चालित आवास शिक्षा कार्यक्रमका लागि प्रधानाध्यापकसहित दुई जना शिक्षक र एक जना कर्मचारीको व्यवस्थापन गरिएको छ। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रमिला राईले सुरुका दिनमा विद्यालय सञ्चालन चुनौतीपूर्ण रहेको बताइन्। गाउँपालिकाले उपलब्ध गराउने बजेट समयमा निकासा नहुँदा व्यवस्थापनमा चुनौती थपिने गरेको थियो। आवासीय विद्यालयमा खटिएका शिक्षक तथा कर्मचारीले २४सै घण्टा बालबालिकाको रेखदेख तथा अध्यापनको काम गर्दै आइरहेका छन्।

गाउँपालिका प्रमुख अरुणादेवी राईले यहाँका गरिब, दलित र असहाय बालबालिकालाई शिक्षाबाट वञ्चित हुन नदिन गाउँपालिकाको लगानीमा निःशुल्क आवासीय विद्यालय सञ्चालन गरिएको बताइन्। “गरिब, दलित र असहाय बालबालिकाका लागि गाउँपालिकाको तर्फबाट खाना, खाजा, लत्ताकपडा र शैक्षिक सामग्रीसहित आवासको व्यवस्था मिलाएका छौँ”, राईले भनिन्, “यसका लागि गाउँपालिकाबाट हरेक वर्ष रु १८ लाख बजेट उपलब्ध हुन्छ। गाउँपालिकाले सुरु गरेको यो कार्यक्रम छोटो समयमा प्रभावकारी बन्दै गएको छ।”

स्थानीयवासीका अनुसार गाउँपालिकाको लगानीमा गरिब, दलित र असहाय बालबालिकालाई लक्षित गरेर सञ्चालित निःशुल्क आवासीय शिक्षा कार्यक्रमबाट लक्षित वर्गका बालबालिका प्रत्यक्ष लाभान्वित भएका छन्। आवासीय विद्यालयमा अध्ययन गर्न चाहने अन्य विद्यार्थीले वार्षिक रु ४० हजार शुल्क तिरेर यस कार्यक्रममा सहभागी हुनसक्ने विद्यालय प्रशासनले जनाएको छ।

यस गाउँपालिकाले शिक्षा क्षेत्रको सुधारमा क्रियाशीलता देखाउँदै चार वर्षदेखि छ जना छात्रछात्रालाई बाली विज्ञान विषयमा निःशुल्क अध्ययन गराइरहेको छ। आफ्नो अध्ययन पूरा गरेपछि गाउँपालिकामा फर्किएर काम गर्ने सहमतिमा उनीहरूलाई छात्रवृत्ति उपलब्ध गराइएको गाउँपालिकाले जनाएको छ।

Maya Thapa

Maya Thapa

संवाददाता · NM Khabar

माया थापा NM खबरकी फिचर लेखिका हुन्। मानवीय रुचिका कथाहरू, महिला सशक्तीकरण र बाल अधिकारका मुद्दाहरूमा उनको संवेदनशील रिपोर्टिङले पाठकको मन छुन्छ। समाजका उपेक्षित पाटाहरूलाई उजागर गर्नु उनको पत्रकारिताको मूल उद्देश्य हो।

सम्बन्धित समाचार