२०औँ एसियाली खेलकुदमा नेपाली महिला राष्ट्रिय फुटबल टोलीको सहभागिता बजेट अभावका कारण अनिश्चित बनेको छ। खेलाडीहरूको राहदानी संकलन भइसके पनि बजेट नहुँदा टोली वञ्चित हुने अवस्था आएको भन्दै नेकपा एमालेका सांसद ऐन महरले संसद्मा सरकारको ध्यानाकर्षण गराएका छन्।
जापानमा आगामी सेप्टेम्बर १४ देखि अक्टोबर २ सम्म आयोजना हुने खेलकुद प्रतियोगिताका लागि बजेटको व्यवस्था नहुँदा खेलाडीहरूले सहभागिता जनाउन नपाउने चिन्ता व्यक्त गरिएको छ।
सांसद महरले प्रधानमन्त्री बालेन्द्र शाहको फेसबुक गतिविधिलाई लिएर कडा आलोचना गरेका छन्। प्रधानमन्त्रीको फेसबुकमा महिला फुटबल टोलीको फोटो हुनु तर खेलका लागि बजेट नहुनुलाई उनले विडम्बनापूर्ण भनेका छन्।
“त्यो फोटो आफ्नो फेसबुकको लाइक, कमेन्ट, सेयर र यसको फलोअर बढाउनका लागि थियो कि महिला खेलाडीहरूलाई सम्मान गर्ने र उनीहरूको खेलकुदको विकासलाई ध्यान दिनका लागि थियो? म त्यो सोध्न चाहन्छु,” महरले प्रश्न गरे।
उनले प्रधानमन्त्रीले फेसबुकमा देखाएको विश्वास र सम्मान व्यवहारमा पनि देखिनुपर्ने माग गरेका छन्। बजेट अभावलाई बहाना नबनाई महिला फुटबल टोलीको सहभागिता सुनिश्चित गर्न उनले सरकारसँग जोडदार माग गरेका छन्।
यसैबीच, नेकपा (एमाले) का सांसद कृपाराम रानाले प्रधानमन्त्री बालेन्द्र साहले सीमाबारे संसदमा दिएको अभिव्यक्ति राष्ट्रघाती भएको भन्दै आम जनतासँग माफी माग्नुपर्ने बताएका छन्। बुधवारको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद रानाले प्रधानमन्त्रीको नेपालले पनि भारतको सीमा मिचेको छ भन्ने अभिव्यक्तिले आफूलाई लज्जाबोध भएको बताएका थिए।
