प्रधानमन्त्री वालेन्द्र शाह आजको प्रतिनिधिसभा बैठकमा उपस्थित नहुने भएका छन्। प्रधानमन्त्रीको सचिवालयका अनुसार आजको बैठकमा बजेटमाथिको छलफलमा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले दिनेछन्।
आगामी आर्थिक वर्ष २०८३/८४ को वार्षिक विनियोजन विधेयक (बजेट) माथि सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिने कार्यसूची छ। प्रधानमन्त्रीले कार्यविधिअनुसार अर्थमन्त्री वाग्लेलाई आफ्नो तर्फबाट जवाफ दिन जिम्मेवारी दिएका हुन्। अर्थमन्त्रीले आफ्नो मन्त्रालयका साथै अन्य मन्त्रालयका विषयमा समेत जवाफ दिनेछन्।
यसअघि पनि प्रधानमन्त्री शाहले संसद्मा उठेका प्रश्नहरूको जवाफ अर्थमन्त्रीमार्फत नै दिने गरेका थिए। जेठ १७ गते प्रतिनिधिसभामा प्रधानमन्त्री शाहको अभिव्यक्तिपछि उत्पन्न विवादका कारण उनी त्यसयता संसद् बैठकमा उपस्थित भएका छैनन्। विपक्षी दलहरूले प्रधानमन्त्रीले सदनमा आएर आफ्नो भनाइ स्पष्ट पार्नुपर्ने माग गर्दै आएका छन्।
