NM Khabar 11 July 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

मुस्ताङमा लेक लागेर पाँच वर्षमा ५९ पर्यटकको मृत्यु, अधिकांश भारतीय

मुस्ताङमा पाँच वर्षमा लेक लागेर ५९ पर्यटकको मृत्यु भएको छ। मृत्यु हुनेमा अधिकांश भारतीय तीर्थयात्री रहेका छन्। उच्च उचाइमा पुग्दा अक्सिजनको कमीले हुने यो समस्याबाट बच्न सावधानी अपनाउन चिकित्सकको सुझाव।
Kamala Devi
Kamala Devi
11 July 2026, 4:33 pm १ मिनेट पढाइ
आकार:
मुस्ताङमा पर्यटकको मृत्यु
Share:

मुस्ताङमा पाँच वर्षको अवधिमा लेक लागेर ५९ जना पर्यटक र तीर्थयात्रीको मृत्यु भएको छ। धार्मिक तथा पर्यटकीयस्थल मुक्तिनाथ र दामोदरकुण्डको भ्रमणमा जाँदा वा फर्किने क्रममा श्वासप्रश्वासमा समस्या आई उपचारका क्रममा वा घटनास्थलमै उनीहरूको ज्यान गएको हो।

जिल्ला प्रहरी कार्यालय मुस्ताङका अनुसार मृत्यु हुनेमा ४३ जना विदेशी र १६ जना नेपाली नागरिक छन्। विदेशी नागरिकमध्ये २८ पुरुष र १५ महिला तथा नेपाली नागरिकमध्ये १२ पुरुष र ४ महिला रहेका छन्।

आर्थिक वर्ष २०७८/७९ मा ६ जना, २०७९/८० मा १२ जना, २०८०/८१ मा १४ जना, २०८१/८२ मा १३ जना र चालु आर्थिक वर्ष २०८२/८३ मा १४ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मुस्ताङका सूचना अधिकारी प्रहरी निरीक्षक सन्तोष बस्यालले जानकारी दिए।

मृत्यु हुने विदेशी पर्यटकहरूमा अधिकांश भारतीय तीर्थयात्री छन्। दामोदरकुण्ड जाने केहीबाहेक प्रायः सबै तीर्थयात्री मुक्तिनाथ मन्दिर दर्शनका लागि आउने वा फर्किने क्रममा लेक लागेर प्रभावित हुने गरेका छन्।

प्रहरीका अनुसार ६४ देखि ८१ वर्ष उमेर समूहका ज्येष्ठ नागरिक, दीर्घरोगी तथा मौसमी रोगबाट पीडित व्यक्तिहरू लेक लाग्ने जोखिममा बढी पर्ने गरेका छन्। यद्यपि, समयमै उपचार पाएर निको भई फर्कने बिरामीको संख्या पनि उल्लेख्य छ।

समुद्री सतहबाट करिब २,५०० मिटर वा सोभन्दा बढी उचाइमा पुग्दा शरीरमा अक्सिजनको मात्रा घट्ने अवस्थालाई ‘लेक लाग्नु’ भनिन्छ।

प्रदेश अस्पताल जोमसोमकी मेडिकल सुपरिटेन्डेन्ट डा. समीक्षा कँडेलका अनुसार एकैपटक धेरै उचाइमा पुग्दा लेक लाग्ने जोखिम बढी हुन्छ। उनले दीर्घरोगीले उच्च हिमाली क्षेत्रमा जानुअघि स्वास्थ्य परीक्षण गराउनुपर्ने र असहज महसुस भएमा तत्काल स्वास्थ्य संस्थाको सम्पर्कमा जानुपर्ने सुझाव दिइन्।

हाल प्रदेश अस्पताल जोमसोम, मुक्तिनाथस्थित हाइ अल्टिच्युड उपचार केन्द्र र स्थानीय स्वास्थ्य संस्थाहरूमा लेक लागेका बिरामीका लागि प्राथमिक उपचार, आवश्यक औषधि र उपकरणको व्यवस्था गरिएको छ।

सडक सञ्जालको पहुँच विस्तारसँगै केही ट्राभल एजेन्सीहरूले छोटो प्याकेजमा एकै दिन लोमान्थाङ वा कोरला नाका पुर्‍याउने प्रतिस्पर्धा गर्दा पर्यटकको स्वास्थ्यमा जोखिम बढेको सरोकारवालाले बताएका छन्।

मुस्ताङकी प्रमुख जिल्ला अधिकारी अजिता शर्माले पर्यटकको हेलचेक्र्याइँ र पर्यटन व्यवसायीबीचको अस्वस्थ प्रतिस्पर्धाले लेक लाग्ने समस्या न्यूनीकरणका प्रयासहरू प्रभावित भएको बताइन्।

चिकित्सकहरूका अनुसार टाउको दुख्ने, अत्यधिक थकान हुने, रिङ्टा लाग्ने, हिँड्न गाह्रो हुने, श्वास फेर्न अप्ठ्यारो हुने, वाकवाकी लाग्ने वा पखाला लाग्ने जस्ता लक्षण देखिएमा तत्काल थप उचाइमा जान रोक्नुपर्ने, आराम गर्नुपर्ने, प्रशस्त पानी वा झोलिलो खानेकुरा सेवन गर्नुपर्ने र सकेसम्म तल्लो क्षेत्रमा झरेर स्वास्थ्यकर्मीसँग परामर्श लिनुपर्ने हुन्छ।

समयमै उपचार गरेमा लेक लागेका अधिकांश बिरामी निको हुने भए पनि लक्षणलाई बेवास्ता गर्दै उचाइमा नै बसिरहे वा अझ माथि जाने प्रयास गरे मस्तिष्क वा फोक्सो सुन्निने जस्ता जटिल अवस्था सिर्जना हुन सक्ने चिकित्सकले चेतावनी दिएका छन्।

लेक लागेर हुने मृत्युलाई न्यूनीकरण गर्नका लागि बेनी–जोमसोम सडकखण्डअन्तर्गत मुस्ताङ प्रवेशद्वार घाँसामा सचेतनामूलक सूचना राख्ने, मुक्तिनाथ मन्दिर व्यवस्थापन समिति र जिल्ला प्रशासन कार्यालयमार्फत जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने कार्य निरन्तर हुँदै आएको छ।

Kamala Devi

Kamala Devi

संवाददाता · NM Khabar

कमला देवी NM खबरकी मधेश क्षेत्र संवाददाता हुन्। तराईका राजनीतिक, सामाजिक र कृषि सम्बन्धी मुद्दाहरूमा जमिनी स्तरबाट रिपोर्टिङ गर्ने उनको शैली विश्वसनीय मानिन्छ। सीमान्तकृत समुदाय र महिलाका अधिकारसम्बन्धी मुद्दाहरूमा उनको विशेष ध्यान छ।

सम्बन्धित समाचार