NM Khabar 12 July 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

मन्त्रीसहित सरकारी टोलीद्वारा खरिपाटी होल्डिङ सेन्टरको निरीक्षण

गृहमन्त्री सुधन गुरुङसहित विभिन्न मन्त्रीहरूले आइतबार भक्तपुरको खरिपाटीस्थित होल्डिङ सेन्टरको निरीक्षण गरेका छन्। सुकुम्बासीको अस्थायी र दीर्घकालीन व्यवस्थापनबारे सरकारको तयारीबारे जानकारी लिएका हुन्।
Laxmi Bhattarai
Laxmi Bhattarai
12 July 2026, 5:02 pm १ मिनेट पढाइ
आकार:
खरिपाटी होल्डिङ सेन्टर
Share:

गृहमन्त्री सुधन गुरुङसहित विभिन्न मन्त्रीहरूले आइतबार भक्तपुरको खरिपाटीस्थित होल्डिङ सेन्टरको निरीक्षण गरेका छन्। उनीहरूले सुकुम्बासीको अस्थायी र दीर्घकालीन व्यवस्थापनबारे सरकारको तयारीबारे जानकारी लिएका हुन्।

अवलोकन टोलीमा सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोख्रेल, भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावल, महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सीता वादी, स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहता र युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादव सहभागी थिए।

भूमि व्यवस्थामन्त्री रावलले आवश्यक प्रक्रिया पूरा गरेर लालपुर्जा वितरण गरिने र कसैले औँला ठड्याउन नसक्ने गरी सरकारले काम गरिरहेको बताइन्। उनले सुकुम्बासी व्यवस्थापनमा केही समय लाग्ने भए पनि सरकारले दीर्घकालीन समाधान खोजिरहेको र सुकुम्बासीका नाममा राजनीति नगर्न आग्रह गरिन्।

कीर्तिपुरस्थित होल्डिङ सेन्टर डुबानमा परेपछि त्यहाँ रहेका सुकुम्बासीलाई खरिपाटीस्थित होल्डिङ सेन्टरमा स्थानान्तरण गरिएको छ। यसअघि खरिपाटीमा २५ जना सुकुम्बासी रहेकामा कीर्तिपुरबाट थपिएपछि संख्या बढ्ने प्रमुख जिल्ला अधिकारी विनोदकुमार खड्काले बताए।

होल्डिङ सेन्टरमा खानेपानी, विद्युत्, शौचालय, स्नानघर र इन्टरनेटजस्ता आधारभूत सेवा उपलब्ध छन्। कोठाहरू सफा र व्यवस्थित छन्। तर, यहाँ बसिरहेका सुकुम्बासीहरूको मुख्य अपेक्षा स्थायी आवास र सम्मानजनक जीवनयापनको सुनिश्चितता रहेको छ। दैनिक ज्यालादारीमा निर्भर उनीहरूलाई रोजगारीका केन्द्रसम्म पुग्न समय र यातायात खर्च बढेको छ। यसले दैनिक जीवनयापन झन् कठिन बनेको छ। बालबालिकाको शिक्षामा पनि विद्यालय टाढा हुँदा चुनौती देखिएको छ।

मन्त्रीहरूको टोलीले करिब दुई घण्टा सेन्टरको निरीक्षण गरी व्यवस्थापन, पूर्वाधार र सेवा–सुविधाबारे जानकारी लिएको थियो। यस क्रममा पत्रकारहरूलाई मुख्य प्रवेशद्वारबाटै रोक लगाइएको थियो।

Laxmi Bhattarai

Laxmi Bhattarai

संवाददाता · NM Khabar

संसद र सरकारी नीतिको क्षेत्रमा एक दशकभन्दा बढी अनुभव भएकी लक्ष्मी भट्टराई NM खबरकी वरिष्ठ संवाददाता हुन्। मन्त्रिपरिषद्का निर्णय, संसदीय बहस र प्रशासनिक मामिलाहरूमा उनको गहन विशेषज्ञता छ।

सम्बन्धित समाचार