NM Khabar 21 July 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

प्रधानमन्त्री र अर्थमन्त्रीबीचको टकरावले अर्थतन्त्रमा तरंग

• प्रधानमन्त्री बालेन शाहले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई बेवास्ता गर्दै निजी क्षेत्र र नियामक निकायसँग सिधै छलफल गरिरहेका छन्। • रास्वपाभित्रको आन्तरिक शक्तिसंघर्ष र बजेट तथा नीतिगत विषयमा असहमतिले दुई नेताबीचको दूरी बढेको छ। • अर्थ मन्त्रालयको कार्यक्षेत्रमा प्रधानमन्त्री कार्यालयको हस्तक्षेपले अर्थमन्त्री चिढिएको र यसले अर्थतन्त्रमा चिन्ता थपेको छ।
Sunita Rai
Sunita Rai
21 July 2026, 9:32 am १ मिनेट पढाइ
आकार:
प्रधानमन्त्री अर्थमन्त्री टकराव
Share:

प्रधानमन्त्री बालेन शाहले निजी क्षेत्रका प्रतिनिधिहरूसँग निरन्तर छलफल गरिरहे पनि अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको अनुपस्थिति अर्थपूर्ण छ। प्रधानमन्त्री कार्यालयमा हुने बैठकहरूमा अर्थमन्त्री नदेखिँदा निजी क्षेत्रका व्यवसायीहरूले अभाव महसुस गरेका छन्।

प्रधानमन्त्री शाहले नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्षदेखि बैंकका सीईओसम्मलाई छुट्टाछुट्टै भेट्दा अर्थमन्त्रीको अनुपस्थिति अर्थपूर्ण मानिएको छ। सोमबार धितोपत्र क्षेत्रका सरोकारवालाहरूसँगको बैठकमा पनि अर्थमन्त्री नभएपछि प्रधानमन्त्रीले सिधै नेपाल धितोपत्र बोर्डका अध्यक्ष डा. गोपाल भट्ट र नेपाल स्टक एक्सचेञ्जका अध्यक्ष तथा अर्थ मन्त्रालयका सहसचिव अमृत लम्साललाई बोलाएका थिए।

स्रोतका अनुसार प्रधानमन्त्री बालेनले आफ्नै अर्थमन्त्री डा. वाग्लेलाई ‘इग्नोर’ गर्दै अर्थतन्त्रसँग आफैँ डिल गरिरहेका छन्। यसलाई अर्थमन्त्रीमा प्रधानमन्त्रीको अविश्वास र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्रको शक्तिसंघर्षको प्रभावका रूपमा पनि बुझिएको छ।

रास्वपा महाधिवेशनपछि सभापति रवि लामिछाने र प्रधानमन्त्री बालेन पक्षधरबीच स्पष्ट कित्ताकाट देखिएको छ। रास्वपा विधानमा सभापतिले संसदीय दलको नेतालाई फिर्ता बोलाउन सक्ने प्रावधान राख्नुमा अर्थमन्त्री वाग्लेको पनि संलग्नता रहेको प्रधानमन्त्रीको टिमले आशंका गरेको छ।

अर्कातिर, डा. वाग्लेले ल्याएको बजेटप्रति पनि प्रधानमन्त्री असन्तुष्ट छन्। सरकारी उद्योग चलाउने र करको भार नथप्ने प्रधानमन्त्रीको चाहनाविपरीत बजेट आएको स्रोतको भनाइ छ। बिजुली र राइड सेयरिङमा लगाइएको भ्याट तथा शिक्षा र स्वास्थ्यमा लगाइएको ३ प्रतिशत शुल्कले सरकारको लोकप्रियतामा ह्रास आएको बालेन टिमको बुझाइ छ।

स्वास्थ्यबीमा कार्यक्रम चल्न सक्दैन भन्ने अर्थमन्त्रीको अभिव्यक्तिप्रति पनि बालेन टिमको गुनासो छ। प्रधानमन्त्री कार्यालयले स्वास्थ्यबीमा कार्यक्रम कसरी सफल बनाउन सकिन्छ भनेर छुट्टै अध्ययन गराइरहेको छ।

अर्थ मन्त्रालयका कार्यक्षेत्रमा पर्ने कामहरू प्रधानमन्त्री कार्यालयबाट समानान्तर रूपमा हुन थालेपछि अर्थमन्त्री डा. वाग्ले प्रधानमन्त्रीसँग चिढिएको उनी निकट स्रोतले बताएको छ।

राष्ट्रबैंकका गभर्नरसँग पनि प्रधानमन्त्रीले सिधै डिल गर्न थालेपछि अर्थमन्त्रीले अपमानित महसुस गरेको बुझिएको छ। यद्यपि, उनी पार्टी सभापतिसँग आफ्ना असन्तुष्टिहरू राखिरहेको स्रोत बताउँछ।

डा. वाग्लेले निरन्तर प्रधानमन्त्री र आफबीच समस्या नरहेको बताउँदै आए पनि आइतबार प्रधानमन्त्रीले सेयर बजारका लगानीकर्ता एवम् नियामकसँगको बैठकमा फेरि अर्थमन्त्रीलाई नबोलाएर अर्थपूर्ण सन्देश दिएका छन्।

Sunita Rai

Sunita Rai

संवाददाता · NM Khabar

सुनिता राई NM खबरकी अर्थ संवाददाता हुन्। नेपाल राष्ट्र बैंकका नीतिहरू, शेयर बजार, विदेशी मुद्रा सटही दर र व्यापार सन्तुलनका विषयमा उनको गहिरो बुझाइ छ। पूर्वाञ्चल विश्वविद्यालयबाट अर्थशास्त्रमा स्नातक गरेकी उनी वित्तीय नीति र बैंकिङ क्षेत्रको विश्लेषणमा सक्रिय छिन्।

सम्बन्धित समाचार