धनुषाको सीमावर्ती क्षेत्र जटहीबाट ठगी मुद्दाका फरार प्रतिवादी कुशेश्वर साह आज बिहान पक्राउ परेका छन्। यसअघि धनुषा प्रहरीको नियन्त्रणबाट नाटकीय रूपमा उम्किएका साहलाई भाग्दै गरेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको हो।
सिरहाको लहानस्थित इलाका प्रहरी कार्यालयमा ठगी तथा आपराधिक विश्वासघातको मुद्दा दर्ता भई पक्राउ पुर्जी जारी भएका ५४ वर्षीय साहमाथि किसानबाट ४५ लाख रुपैयाँभन्दा बढीको धान खरिद गरी भुक्तानी नगरेको आरोप छ। सिरहाको मुसहरनियाँस्थित कौशल एग्रो राइस मिलका सञ्चालक साहले २०८१ सालमा चार जना किसानको धान उधारोमा खरिद गरेर रकम नदिएका थिए।
पृष्ठभूमि
- २०८१ सालमा चार जना किसानले साहको मिलमा धान बिक्री गरेका थिए तर भुक्तानी नपाएपछि प्रहरीको शरणमा पुगेका थिए।
- किसानहरूले २०८१ पुसमै जाहेरी दिन खोजे पनि सुरुमा प्रहरीले दर्ता गर्न मानेको थिएन; करिब डेढ वर्षपछि मात्रै जाहेरी दर्ता भएको थियो।
पीडित किसान रामनाथ साहको २१ लाख, प्रवेश साहको ४ लाख, दिनेश साहको १० लाख र अशोक महतोको १० लाख रुपैयाँ बराबरको धानको भुक्तानी रोकिएको थियो। पटकपटक भुक्तानी माग गर्दा पनि नपाएपछि उनीहरू प्रहरीको शरणमा पुगेका थिए। किसानहरूले २०८१ पुसमै इलाका प्रहरी कार्यालय लहानमा जाहेरी दिन खोज्दा सुरुमा प्रहरीले दर्ता गर्न मानेको थिएन।
जिल्ला प्रहरी, प्रशासन, मधेश प्रदेश प्रहरी कार्यालय, प्रहरी प्रधान कार्यालय र गृह मन्त्रालयसम्म धाएपछि करिब डेढ वर्षमा मात्रै किसानको जाहेरी दर्ता भएको थियो। त्यसपछि साहविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो। गत शुक्रबार लहानबाट सादा पोसाकमा खटिएको प्रहरी टोलीले पीडितलाई समेत लिएर जनकपुरधाम उपमहानगरपालिका–४ स्थित बंशीचोकको काली होटलनजिकै साहलाई हत्कडी लगाएर नियन्त्रणमा लिएको थियो।
तर, मुजेलिया प्रहरीले उनलाई जिल्ला प्रहरी कार्यालय धनुषामा उपस्थित नगराई बीच बाटोबाटै छाडिदिएको पीडित पक्षको आरोप छ। प्रहरीले ‘माथिबाट फोन आएको’ भन्दै साहलाई घरसम्मै पुर्याइदिएको पीडित पक्षले दाबी गरेको थियो। उक्त घटनाको सीसीटीभी फुटेजसमेत रहेको उनीहरूको भनाइ छ। प्रहरी स्रोतका अनुसार साह र उनकी श्रीमती बिरामी भएको बहाना बनाएर नवजीवन अस्पताल भर्ना भएका थिए। अस्पतालबाट लुगा लिन घर जानुपर्ने भन्दै साह एक प्रहरी हवल्दारसँग घर पुगेका थिए। घर पुगेपछि चुकुल लगाएर लुकेका साहलाई नियन्त्रणमा लिन जिल्लाबाट थप प्रहरी टोली बोलाएर घर घेरिएको थियो। तर, प्रहरीको घेराबाटै उनी नाटकीय शैलीमा फरार भएका थिए।
प्रहरीमाथि दबाब र मधेश प्रदेश प्रहरीको चासो
धनुषा प्रहरीको कमजोरीका कारण अभियुक्त फरार भएको विषयमा समाचार प्रकाशित भएपछि उनको खोजीमा मधेश प्रदेश प्रहरी कार्यालयले समेत चासो देखाएको थियो। समाचारको कटिङसहित सम्बन्धित निकायमा जानकारी पठाइएपछि धनुषा प्रहरीमाथि साहलाई खोजी गरी पक्राउ गर्न दबाब बढेको थियो।
पक्राउ परेका ५४ वर्षीय साहलाई आवश्यक कानुनी प्रक्रियाका लागि लहानस्थित इलाका प्रहरी कार्यालयमा बुझाइने प्रहरी स्रोतले जनाएको छ।