धनुषा प्रहरीले अदालतबाट कैद तथा जरिवाना तोकिएर कानुन छलेर लुकीछिपी बस्दै आएका ६ जना फरार अपराधीलाई पक्राउ गरेको छ।
धनुषा जिल्ला अदालतको फैसला कार्यान्वयनलाई तीव्रता दिने क्रममा जिल्ला प्रहरी कार्यालय र मातहतबाट खटिएको विशेष प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो। पक्राउ परेकाहरूलाई आवश्यक कारबाहीका लागि धनुषा जिल्ला अदालतमा पेस गरिएको छ।
पक्राउ पर्नेमा कर्तव्य ज्यान, लागूऔषध, गर्भपतन, चोरी र सवारी ज्यान मुद्दाका दोषीहरू छन्। प्रहरीले सार्वजनिक गरेको विवरणअनुसार उनीहरूलाई अदालतले यसअघि निम्नअनुसारको कैद र जरिवाना तोकेको थियो:
- कर्तव्य ज्यान मुद्दा: १ वर्ष ९ महिना कैद र रु. २५,०००/- जरिवाना
- लागूऔषध मुद्दा (ठूलो कसूर): २ वर्ष कैद र रु. १,००,०००/- जरिवाना
- गर्भपतन मुद्दा: ६ महिना कैद र रु. ५,०००/- जरिवाना
- लागूऔषध मुद्दा (सानो कसूर): ४० दिन कैद र रु. १,०००/- जरिवाना
- चोरी मुद्दा: १० दिन कैद र रु. २,०००/- जरिवाना
- सवारी ज्यान मुद्दा: १५ दिन कैद
प्रहरीले अपराध गरेपछि जतिसुकै समय बिते पनि कानुनको फन्दाबाट उम्किन नसकिने बताएको छ।
