मधेस प्रदेशमा पार्टी कमजोर रहे समग्र कम्युनिस्ट आन्दोलन नै ठूलो दुर्घटनामा पर्ने चेतावनी पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दिएका छन्। उनले मधेसमा पार्टी निर्माणलाई उच्च प्राथमिकतामा राखेको बताए।
बुधबार जनकपुरमा आयोजित पार्टीको प्रदेशस्तरीय प्रशिक्षण तथा शपथ ग्रहण समारोहमा बोल्दै दाहालले मधेसमा पार्टी बलियो भए मात्रै कम्युनिस्ट आन्दोलनका लागि शक्ति निर्माण हुने बताए। ‘मधेसमा राम्रो पार्टी बनाउन सकिएन भने त्यसले समग्र कम्युनिस्ट आन्दोलनलाई नै निकै ठूलो दुर्घटना बेहोर्नुपर्ने खतरा हामीले देखेका छौं,’ उनले भने। ‘त्यसैले अहिले पार्टीले मधेस प्रदेशमा पार्टी र आन्दोलन निर्माणको कुरालाई उच्च प्राथमिकतामा राखेको छ।’
कार्यविभाजन र जिम्मेवारी बाँडफाँडमा नेता-कार्यकर्तामा देखिएको असन्तुष्टिबारे दाहालले गल्ती कमजोरी सच्याइने प्रतिबद्धता जनाए। बिहानैदेखि अगुवा कार्यकर्तासँगको गृहकार्य र अन्तरक्रियापछि जिम्मेवारी दिँदा केही तलमाथि परेको उनले स्वीकार गरे। ‘कयौं कुरा अझै मिलाउन बाँकी छ भन्ने महसुस हामी नेतृत्वले गरेका छौं,’ दाहालले भने। ‘जिम्मेवारी दिँदा तलमाथि परेको छ भन्ने साथीहरूको भनाइलाई आत्मसात् गर्दै निश्चित प्रक्रियाबाट गुनासो सम्बोधन गरिनेछ।’
उनले कार्यकर्तालाई धेरै चिन्तित नहुन आग्रह गर्दै उठाइएका विषयलाई पुनर्विचार गरी करेक्सन गर्ने प्रतिबद्धता व्यक्त गरे।
