काठमाडौं: अध्यागमन विभागको हिरासतमा रहेका ९ जना चिनियाँ नागरिकलाई रिहा गराउन ७२ लाख रुपैयाँको डिल गर्ने प्रयासमा सशस्त्र प्रहरीका पूर्व एसएसपीसहित तीन जना पक्राउ परेका छन्। उनीहरूले चिनियाँ नागरिकबाट पेश्कीबापत ९ लाख रुपैयाँ बुझिसकेको पाइएको छ।
नवलपरासी पश्चिमका पूर्व एसएसपी ५९ वर्षीय गोपालकुमार गुरुङ, सर्लाहीका हास्य कलाकार ५२ वर्षीय नारदप्रसाद खतिवडा र उदयपुरका ३८ वर्षीय विक्रमबहादुर थापालाई उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले काठमाडौंका विभिन्न स्थानबाट पक्राउ गरेको हो। पक्राउ परेका थापा बैंकिङ कसुरका फरार अभियुक्तसमेत हुन्।
अपराध अनुसन्धान कार्यालयका एसएसपी सन्तोषकुमार खड्काका अनुसार पक्राउ परेको समूहले हिरासतमा रहेका चिनियाँलाई रिहा गराउन ७२ लाख रुपैयाँको मोलमोलाइ गरेको थियो। सोही क्रममा उनीहरूले ९ लाख रुपैयाँ पेश्की लिइसकेका थिए। बाँकी रकम चिनियाँ नागरिक छुटेपछि भुक्तानी गर्ने सहमति भएको थियो।
सूचना चुहिएपछि प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो। पक्राउ परेकाहरूले अध्यागमन विभागले बरामद गरेका १५ थान राहदानी पनि चिनियाँ नागरिकलाई फिर्ता गरिदिने आश्वासन दिएका थिए।
यसअघि ललितपुरको धोबीघाटबाट अवैध रूपमा बसेका २७ जना चिनियाँ नागरिकमाथि अध्यागमन विभागले कारबाही गरेको थियो। उनीहरू क्रिप्टो कारोबारमा संलग्न भएको आशंका गरिएको थियो। भ्यालिड भिसा भएकाहरूलाई छाडिए पनि भिसा नभएका ९ जनालाई हिरासतमा लिइएको थियो।
सोही समूहको थप निगरानी गर्ने क्रममा चोभारमा करिब ६ रोपनी जग्गामा भव्य अफिस खडा गरी ‘ट्रेजर्स नेपाल’को बोर्ड राखेर ‘ड्रागन ब्रिज इन्टरनेसनल’ नामक कम्पनीमार्फत अवैध धन्दा सञ्चालन गरेको भेटिएको थियो। उक्त कम्पनी नेपाली नागरिक पवन लामा थिङको नाममा गत १० असारमा दर्ता भएको पाइएको छ।
सोही अफिसमा छापा मार्दा करिब ६०/७० जना चिनियाँ, करिब ५० जना नेपाली महिला र सुरक्षागार्डहरू फेला परेका थिए। भ्यालिड भिसा भएका चिनियाँलाई छाडिए पनि भिसा नभएका ९ जनालाई पक्राउ गरिएको थियो। उनीहरूले आयुर्वेदिक औषधिको नाममा नेपाली बजारमा १२ हजारदेखि २० हजार रुपैयाँसम्ममा सामान बेच्ने गरेको पाइएको थियो।
