नेपाल राष्ट्र बैंकले भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशिका, २०८२ मा १५औँ संशोधन गरेको छ। यसअनुसार अब वालेट खोल्न र प्रयोगकर्ताको विवरण अद्यावधिक गर्न राष्ट्रिय परिचयपत्र नम्बर अनिवार्य हुनेछ।
भुक्तानी प्रणाली विभागले शुक्रबार जारी गरेको परिपत्रले भुक्तानी सेवा प्रदायकलाई नेपाली नागरिकको राष्ट्रिय परिचयपत्रको विद्युतीय अभिलेखअनुसार विवरण यकिन गरी वालेट खोल्न निर्देशन दिएको छ।
अनुमतिप्राप्त संस्थाले २०८३ असोज मसान्तभित्र मोबाइल एप वा अन्य माध्यमबाट वालेट प्रयोगकर्ताको राष्ट्रिय परिचयपत्र विवरण छ वा छैन भनी स्वघोषणा लिनुपर्नेछ।
निर्देशिकाअनुसार राष्ट्रिय परिचयपत्र लिएका नेपाली नागरिकले २०८३ असोज मसान्तभित्र आफ्नो वालेटमा सो नम्बर अद्यावधिक गर्नुपर्नेछ। परिचयपत्र नलिएकालाई लिएपछि विवरण अद्यावधिक गर्न प्रत्येक महिना जानकारी गराउनुपर्नेछ।
विदेशमा बसोबास गर्ने नेपालीले विदेशबाटै अनलाइनमार्फत वालेट खोल्न सक्नेछन्। नेपाल फर्किएको छ महिनाभित्र उनीहरूले राष्ट्रिय परिचयपत्रको विवरण सम्बन्धित संस्थामा अद्यावधिक गर्नुपर्नेछ।
अशक्त तथा असहाय नागरिकका हकमा राष्ट्रिय परिचयपत्र वा नम्बरबाहेक अन्य कागजातका आधारमा पनि वालेट खोल्न र कारोबार गर्न सकिने व्यवस्था संशोधित निर्देशिकाले गरेको छ।
