आम जनता पार्टी (आजपा)का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले रास्वपा नेतृत्वको सरकारले मुलुकलाई सही तवरले नेतृत्व प्रदान गर्न नसक्दा छोटो समयमै असन्तुष्टि बढेको बताएका छन्। उनले राष्ट्रियता, सुशासन र विकासका मामिलामा वर्तमान सरकार असफलतातर्फ उन्मुख रहेको आरोप लगाए।
शनिबार रौतहटको कटहरियामा आयोजित आईटी आर्मीको विशेष जिल्ला भेलालाई सम्बोधन गर्दै साहले नेपाली जनताले देशको वर्तमान राजनीतिक व्यवस्थामा सुधारको आशामा रास्वपालाई अभूतपूर्व मत दिए पनि सोहीअनुसार सरकारले पहल नगरेको टिप्पणी गरे। उनले सरकार बदलिए पनि मुलुकको अवस्था नबदलिएकोमा चिन्ता व्यक्त गरे।
साहले प्रधानमन्त्री बालेन शाहको नेतृत्वमा बनेको सरकारले जनतामा चरम निराशा ल्याएको र सरकारको नेतृत्व गरेको दल रास्वपा आन्तरिक विवादमा फसेको दाबी गरे। उनले गरिब, निमुखा र विपन्न जनता वर्तमान सरकारबाट त्रसित रहेको र विस्थापित सुकुम्वासीहरुको समस्या अझै समाधान नभएको चित्रण गरे।
उनले मूल्यवृद्धि नियन्त्रणमा सरकार असफल भएको, विकास खर्च गर्न नसकेको र आन्तरिक तथा वैदेशिक ऋण बढाउने काममा लागेको आरोप लगाउँदै अर्थमन्त्री स्वर्णिम वाग्लेले देशको अर्थतन्त्रलाई सही तवरले ड्राइभ गर्न नसक्ने ठोकुवा गरे।
साहले वर्तमान सरकारले विकास कूटनीतिको हल्ला पिटे पनि वैदेशिक सम्बन्ध सुधारका लागि कुनै ठोस पहल नगरेको आरोप लगाए। भारत र चीनजस्ता महत्वपूर्ण छिमेकीहरूसँगको सम्बन्ध अवरुद्ध भएको र ती देशहरूमा राजदूतविहीन अवस्था रहेको भन्दै उनले सरकारको आलोचना गरे।
प्रधानमन्त्री शाहले विदेशी राजदूतहरूसँग एक्लाएक्लै नभेट्ने भनेर चर्चा बटुले पनि आफ्ना सल्लाहकारलाई सुटुक्क दिल्ली पठाएको र सम्बन्ध सुधारको पहल लिएको खबर बाहिरिनुले प्रधानमन्त्रीको राष्ट्रवादी छविलाई उदांगो पारेको टिप्पणी गरे। उनले विदेश सम्बन्धमा हचुवा र अपरिपक्व व्यवहार प्रस्तुत नगर्न प्रधानमन्त्रीलाई सुझाव दिए।
अन्त्यमा, साहले सरकारका हरेक गलत क्रियाकलापको सशक्त प्रतिवाद गर्न युवा पंक्तिलाई निर्देशन दिए। देशको बदलावका लागि युवाहरूको विशेष भूमिका आवश्यक रहेको भन्दै सत्तामा बसेकाहरूको अन्धभक्तहरूले साइबर बुलिङ गरे पनि सत्य बोल्न नडराउन आग्रह गरे। उनले परिवर्तन र अग्रगामी शक्तिहरूबीच तत्काल सहकार्यको आवश्यकतामा पनि जोड दिए।
