मधेस प्रदेशका मुख्यमन्त्री कृष्ण यादवले कांग्रेस, एमाले र माओवादी केन्द्रबीचको तीन दलीय गठबन्धन कायमै रहने दाबी गरेका छन्। सत्ता साझेदार दलहरूसँग कुनै खटपट नआएको र आफ्नो नेतृत्वको सरकारलाई समस्या नरहेको उनले स्पष्ट पारे। राजनीतिमा रातारात ठूलो परिवर्तन आउन सक्ने भए पनि केन्द्र र प्रदेश तहको सहमति अनुसार मधेसमा तीन दलकै सरकारले निरन्तरता पाउने बताए।
रातोपाटीसँग कुरा गर्दै मुख्यमन्त्री यादवले भने, ‘केन्द्रमा पुगेर बैठक, छलफल गरेर आएका छौँ । आज बिहान पनि पार्टीको सभापतिसँग कुरा भयो । प्रदेशमै मिलाएर लैजानुस् भन्नुभएको छ ।’ प्रदेशको सत्ता गठबन्धनमा रहेका दलहरूसँग सहमति भइसकेकाले यही सरकारले निरन्तरता पाउनेमा उनी विश्वस्त छन् ।
आफ्नो पार्टीको केन्द्रीय नेतृत्वले प्रतिपक्षबिहीन प्रदेश सरकारको परिकल्पना गर्न नसकिने भन्दै तीन दलीय गठबन्धन अस्वीकार गरे पनि मधेसको हकमा त्यो लागू नहुने मुख्यमन्त्री यादवले स्पष्ट पारे । अन्य प्रदेशमा यी तीन दलमध्ये कुनै एक दल बलियो प्रतिपक्ष रहेको जिकिर गर्दै उनले मधेसमा कांग्रेस, एमाले र माओवादी केन्द्र सरकारमा जाँदा पनि जसपा नेपाल बलियो प्रतिपक्षका रूपमा रहेकाले यहाँ तीन दलीय गठबन्धन बनाउनु केन्द्रको नीति विपरीत नरहने बताए ।
उनले भने, ‘मधेसमा प्रतिपक्ष बलियो छ, प्रतिपक्षलगायत सबैको सहमतिमा हामीले बजेट पारित गरेका छौँ ।’
मुख्यमन्त्री यादवले मधेसमा यही सरकारले निरन्तरता पाउने दाबी गर्दै गठबन्धनमा रहेका दलहरूबीच पहिले नै सहमति भइसकेको बताए । रातारात केही भए अर्कै कुरा, अन्यथा अहिलेसम्मको सिनारियोले मधेसमा अन्य प्रदेशजस्तो सरकार ढल्ने या परिवर्तनको सम्भावना नरहेको उनले प्रस्ट पारे ।
