वीरगन्जको नारायणी अस्पतालमा चिकित्सकमाथि भएको साङ्घातिक आक्रमण र जिल्ला प्रशासन कार्यालय पर्सामा भएको दुर्व्यवहारको विरोधमा देशभरका अस्पतालहरूमा आकस्मिकबाहेकका सम्पूर्ण सेवा ठप्प पारिएको छ। नेपाल चिकित्सक संघले सोमबार विज्ञप्ति जारी गर्दै आज (मंगलबार) सरकारी, गैरसरकारी र निजी अस्पतालहरूमा यो सेवा बन्दको घोषणा गरेको हो।
गत साउन ९ गते नारायणी अस्पतालमा कार्यरत डा. प्रमोद राम लगायतका स्वास्थ्यकर्मीहरूमाथि आक्रमण गरी टाउकोमा गम्भीर चोट पुर्याइएको थियो। आक्रमणकारीले अस्पतालमा समेत तोडफोड गरेका थिए।
घटनाका दोषीलाई कारबाहीको माग गर्दै जिल्ला प्रशासन कार्यालय पर्सामा वार्ता चलिरहेको थियो। प्रमुख जिल्ला अधिकारी (सीडीओ) को उपस्थितिमा प्रहरी प्रमुखले बल प्रयोग गरी संघका केन्द्रीय कार्यकारिणी सदस्य र नारायणी शाखाका अध्यक्ष लगायतका चिकित्सकहरूमाथि गालीगलौज र दुर्व्यवहार गरेको संघले जनाएको छ। संघले यस घटनाको घोर भर्त्सना गरेको छ।
संघले डा. राम र अन्य स्वास्थ्यकर्मीमाथि आक्रमण गर्ने दोषीलाई तत्काल पक्राउ गरी ‘स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन, २०६६ (पहिलो संशोधन, २०७९)’ बमोजिम कारबाहीको माग गरेको छ। वार्ताका क्रममा चिकित्सकहरूको मानमर्दन गर्ने पर्साका सीडीओ र प्रहरी प्रमुखमाथि समेत तत्काल कारबाहीको माग गरिएको छ।
राज्यको दमनकारी व्यवहारको विरोधमा आज आकस्मिकबाहेकका सेवा बन्द गरिएको छ। आन्दोलनका थप कार्यक्रमहरू आजै सर्वपक्षीय भेलाबाट तय गरिने विज्ञप्तिमा उल्लेख छ।
संघका महासचिव डा. विश्वराज दवाडी र अध्यक्ष डा. बद्री रिजालद्वारा हस्ताक्षरित विज्ञप्तिमा बिरामीहरूमा पर्न जाने असुविधाप्रति क्षमा माग्दै यसको सम्पूर्ण जिम्मेवारी नेपाल सरकारले लिनुपर्ने स्पष्ट पारिएको छ।
