वीरगञ्जको नारायणी अस्पतालमा चिकित्सक र स्वास्थ्यकर्मीमाथि भएको आक्रमण तथा तोडफोडको विरोधमा नेपाल चिकित्सक संघ (एनएमए) ले देशभर आकस्मिकबाहेक सम्पूर्ण स्वास्थ्य सेवा ठप्प पारेको छ। संघको केन्द्रीय कार्यालयमा आन्दोलनको समीक्षा र आगामी रणनीति तय गर्न बैठक बसिरहेको छ।
आन्दोलनको प्रभाव रौतहटको प्रादेशिक अस्पताल गौरदेखि देशभरका सरकारी र निजी स्वास्थ्य संस्थामा परेको छ। गौर अस्पतालले संघको आन्दोलनमा ऐक्यबद्धता जनाउँदै आकस्मिकबाहेक ओपीडी र नियमित सेवा बन्द गरेको जनाएको छ। अत्यावश्यक बिरामीका लागि भने आकस्मिक सेवा सञ्चालन हुने स्पष्ट पारिएको छ।
चिकित्सक संघका अनुसार साउन ९ गते नारायणी अस्पतालमा कार्यरत डा. प्रमोद रामसहित स्वास्थ्यकर्मीमाथि साङ्घातिक आक्रमण भएको थियो। टाउकोमा गम्भीर चोट लागेका डा. राम उपचाररत छन्। सोही क्रममा अस्पताल परिसरमा तोडफोडसमेत भएको थियो।
दोषीमाथि कारबाहीको माग गर्दै जिल्ला प्रशासन कार्यालय पर्सामा भएको छलफलका क्रममा प्रमुख जिल्ला अधिकारीकै रोहवरमा प्रहरी प्रमुखले चिकित्सकमाथि गालीगलौज र दुर्व्यवहार गरेको आरोप संघको छ। संघका अनुसार केन्द्रीय कार्यकारिणी सदस्य र नारायणी शाखा अध्यक्षसहितका चिकित्सक दुर्व्यवहारको शिकार बनेका छन्।
यसैबीच नारायणी अस्पतालका ४६ जना चिकित्सकले सामूहिक राजीनामा दिएका छन्। मेडिकल सुपरिन्टेन्डेन्ट डा. चित्तरञ्जन साहलाई बुझाइएको ज्ञापनपत्रमा कार्यस्थलमा पटक–पटक हुने आक्रमण, असुरक्षा र प्रशासनको बेवास्ता उल्लेख छ। माग सम्बोधन नभए राजीनामा बुझाएर सेवाबाट अलग हुने चेतावनी दिइएको छ। ज्ञापनपत्रमा विशेषज्ञ, कन्सल्टेन्ट र मेडिकल अधिकृतसहित ४६ जनाको हस्ताक्षर छ।
ज्ञापनपत्रमा आकस्मिक विभागमा कार्यरत चिकित्सकमाथिको कुटपिट, अस्पताल तोडफोड र दोषीमाथि कारबाही नहुँदा चिकित्सकहरू भय र त्रासको वातावरणमा सेवा दिन बाध्य भएको उल्लेख छ। प्रमुख जिल्ला अधिकारीको रोहवरमा भएको सुरक्षा प्रतिबद्धता कार्यान्वयन नभएको भन्दै चिकित्सकहरूले सुरक्षित कार्य वातावरणको माग गरेका छन्।
नेपाल चिकित्सक संघले घटनामा संलग्नलाई ‘स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा ऐन, २०६६ (पहिलो संशोधन, २०७९)’ बमोजिम कारबाही गर्न माग गरेको छ। चिकित्सकमाथिको दुर्व्यवहारमा पर्साका प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखमाथि समेत छानबिन र कारबाहीको माग गरिएको छ।
संघका अध्यक्ष डा. बद्री रिजाल र महासचिव डा. विश्वराज दवाडीद्वारा हस्ताक्षरित विज्ञप्तिमा बिरामीलाई परेको असुविधाको जिम्मेवारी सरकारको निष्क्रियता र स्वास्थ्यकर्मीको सुरक्षा सुनिश्चित गर्न नसकेको अवस्थालाई औंल्याइएको छ।
नारायणी अस्पतालको घटनाले देशभरका स्वास्थ्य संस्थामा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीको सुरक्षा, सम्मान र निर्भय कार्य वातावरण सुनिश्चित गर्ने राष्ट्रिय बहसलाई गम्भीर बनाएको छ। वीरगञ्जका सरकारी र निजी अस्पतालका सेवा तीन दिनदेखि प्रभावित छन्। चिकित्सकमाथि भएको कुटपिटको विरोधमा गत आइतबारदेखि नै वीरगञ्जका अस्पतालमा आकस्मिकसहित अधिकांश सेवा बन्द छन्।
