NM Khabar 31 July 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

देवानगञ्ज घटना: सहमतिपछि पनि परिवारद्वारा शव बुझ्न अस्वीकार

सुनसरीको देवानगञ्ज घटनामा मृत्यु भएका दुई युवाको शव परिवारले बुझ्न अस्वीकार गरेका छन्। गृहमन्त्री सुधन गुरुङसँग भएको सहमति कार्यान्वयन नहुने भन्दै आफन्त विरोधमा उत्रिएका छन्। घटनामा दुई जनाको गोली लागेर मृत्यु भएको थियो र शव हाल न्युरो अस्पतालको शव गृहमा छ।
Kamala Devi
Kamala Devi
31 July 2026, 5:32 pm १ मिनेट पढाइ
आकार:
देवानगञ्ज घटना शव बुझ्न
Share:

सुनसरीको देवानगञ्ज–३ कप्तानगञ्जमा दुई समुदायबीचको विवादमा सशस्त्र प्रहरीको गोली लागेर मृत्यु भएका दुई युवाको शव परिवार र आफन्तले बुझ्न अस्वीकार गरेका छन्। गृहमन्त्री सुधन गुरुङको उपस्थितिमा बिहीबार राति भएको सहमति कार्यान्वयन नहुने भन्दै उनीहरूले शव बुझ्न मानेका छैनन्।

सहमतिमा शुक्रबार अपराह्न शव बुझेर पोस्टमार्टम गरी अन्त्येष्टि गर्ने उल्लेख थियो। तर, आफन्तले दबाबमा सहमति गराइएको र कार्यान्वयनको सुनिश्चितता नभएको आरोप लगाएका छन्। स्थानीयले समेत गृहमन्त्रीको दबाबमा सहमति गराइएको दाबी गरेका छन्।

स्थानीयको विरोधले शव बुझ्न विराटनगर आएका परिवारका सदस्य र आफन्त पुनः देवानगञ्ज फर्किएका हुन्। दुवै मृतकको शव हाल विराटनगरस्थित न्युरो अस्पतालको शव गृहमा छ। सहमतिपछि पनि पोस्टमार्टम प्रक्रिया अघि बढ्न सकेको छैन।

गत आइतबार राति देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा दुई समुदायबीच विवाद हुँदा सशस्त्र प्रहरीले गोली चलाउँदा स्थानीय ओमप्रकाश मेहताको सोही राति मृत्यु भएको थियो। गोली लागेर घाइते भएका जयप्रकाश मेहताको बिहीबार उपचारका क्रममा मृत्यु भएको थियो।

सुनसरीका प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद अर्यालले शव बुझ्ने विषयमा केही समस्या देखिएको र प्रहरीले समन्वय गरी समाधानको प्रयास गरिरहेको बताए। बुधबारदेखि सुनसरीको अवस्था सामान्य बन्दै गए पनि कफ्र्यु भने हटाइएको छैन।

Kamala Devi

Kamala Devi

संवाददाता · NM Khabar

कमला देवी NM खबरकी मधेश क्षेत्र संवाददाता हुन्। तराईका राजनीतिक, सामाजिक र कृषि सम्बन्धी मुद्दाहरूमा जमिनी स्तरबाट रिपोर्टिङ गर्ने उनको शैली विश्वसनीय मानिन्छ। सीमान्तकृत समुदाय र महिलाका अधिकारसम्बन्धी मुद्दाहरूमा उनको विशेष ध्यान छ।

सम्बन्धित समाचार