मधेस प्रदेशमा रोपाइँ ९१.५५ प्रतिशत सकिएको छ। प्रदेश कृषि विकास निर्देशनालयका अनुसार तीन लाख ५० हजार ११८.८८ हेक्टरमा रोपाइँ सम्पन्न भएको छ। यो कुल रोपाइँयोग्य क्षेत्रफलको ९१.५५ प्रतिशत हो।
आठ जिल्लामध्ये सिरहामा सबैभन्दा बढी १०० प्रतिशत रोपाइँ सकिएको छ। बागबानी अधिकृत किरण विश्वकर्माका अनुसार सिरहाको ५४ हजार हेक्टर क्षेत्रफलमा शतप्रतिशत रोपाइँ भएको छ।
सप्तरीमा ६८ हजार हेक्टरमध्ये ६१ हजार २०० हेक्टरमा (९० प्रतिशत) रोपाइँ भएको छ। धनुषामा ४३ हजार ९०० हेक्टरमध्ये ३७ हजार ३१५ हेक्टरमा (८५ प्रतिशत) रोपाइँ सम्पन्न भएको छ।
महोत्तरीमा ७४.७७ प्रतिशत, सर्लाहीमा ९४ प्रतिशत, रौतहटमा ९३ प्रतिशत, बारामा ९५ प्रतिशत र पर्सामा ९१ प्रतिशत रोपाइँ सकिएको छ।
यस वर्ष मधेस प्रदेशमा कुल तीन लाख ८२ हजार ४३३ हेक्टर क्षेत्रफलमा धान खेती हुने अनुमान छ। अनुकूल वर्षा र पर्याप्त सिँचाइ सुविधाले रोपाइँ सन्तोषजनक रूपमा अघि बढेको निर्देशनालयले जनाएको छ।
