गृहमन्त्री सुदन गुरुङले सुनसरीको कप्तानगञ्ज र सिरहाको गोलबजारमा भएका हिंसात्मक घटनापछि मधेस प्रदेश सरकारसँग उच्चस्तरीय छलफल गरेका छन्। शनिबार जनकपुरधाममा मुख्यमन्त्री कृष्णप्रसाद यादवसँगको भेटमा प्रदेशको समग्र शान्ति–सुरक्षा अवस्थाबारे समीक्षा गरियो।
सुनसरीमा प्रहरीको गोली लागेर दुई जनाको मृत्यु भएपछि गृहमन्त्री गुरुङले पीडित परिवारसँग सहमति गरेका थिए। त्यसलगत्तै सिरहाको गोलबजारमा प्रदर्शनका क्रममा ज्यान गुमाएका १५ वर्षीय गणेश यादवका परिवारसँग सातबुँदे सहमति गरेका थिए। यी घटनापछि उनी जनकपुर पुगी हिन्दुवादी संगठनका प्रतिनिधिहरूसँग पनि वार्तामा बसेका थिए।
भेटमा प्रदेशमा शान्ति, सुरक्षा र सामाजिक सद्भाव कायम राख्न संघीय र प्रदेश सरकारबीचको समन्वयलाई अझ प्रभावकारी बनाउने विषयमा जोड दिइएको थियो। दुवै पक्षले कानुनी शासनको प्रभावकारी कार्यान्वयन, सामाजिक तथा साम्प्रदायिक सद्भावको संरक्षण र कुनै पनि उत्तेजनात्मक गतिविधि नियन्त्रण गर्न सबै पक्ष जिम्मेवार, संयमित र संवेदनशील हुनुपर्नेमा साझा प्रतिबद्धता व्यक्त गरेका छन्।
मुख्यमन्त्री यादवसँगको छलफलमा मधेस प्रदेशका गृह, सञ्चार तथा कानुनमन्त्री फकिरा महतो, अर्थमन्त्री युवराज भट्टराई, प्रदेशका सुरक्षा निकायका प्रमुखहरू तथा नेपाल सरकारका प्रतिनिधिहरूको सहभागिता थियो। गृहमन्त्री गुरुङको यो भ्रमण मधेसमा बिग्रँदो सुरक्षा अवस्थालाई नियन्त्रणमा लिने, सामाजिक सद्भाव कायम गर्ने र नागरिकमा विश्वास पुनःस्थापित गर्ने प्रयासका रूपमा हेरिएको छ।
