अमेरिकी विदेश मन्त्रालयले नेपालसहित ५० देशका नागरिकका लागि लागू गरेको भिसा धरौटी प्रणालीलाई स्थायी गर्ने निर्णय गरेको छ। एक वर्षको परीक्षण कार्यक्रम सफल भएको निष्कर्षपछि यो व्यवस्थालाई स्थायी नियम बनाइएको हो।
नयाँ नियमअनुसार अमेरिकाको बी–१ (व्यापारिक) र बी–२ (पर्यटकीय) भिसाका लागि नेपाली नागरिकले कम्तीमा १० हजारदेखि अधिकतम २० हजार अमेरिकी डलर (करिब ३० लाख रुपैयाँ) धरौटी अनिवार्य रूपमा बुझाउनुपर्नेछ। यो रकम भिसा अन्तर्वार्ताअघि नै जम्मा गर्नुपर्नेछ।
यसअघि परीक्षण अवधिमा कन्सुलर अधिकारीको विवेकमा ५ हजारदेखि १५ हजार अमेरिकी डलरसम्म धरौटी तोक्ने व्यवस्था थियो। नयाँ नियमले ५ हजार डलरको विकल्प हटाएको छ। अब १० हजार र २० हजार अमेरिकी डलर गरी दुई विकल्प मात्र कायम छन्।
अमेरिकी विदेश मन्त्रालयका अनुसार भिसा अस्वीकृत भएमा वा अमेरिका प्रवेश गरी भिसा अवधि सकिनुअघि नियमसम्मत स्वदेश फर्किएमा धरौटी रकम पूर्ण फिर्ता गरिनेछ।
यो व्यवस्था मुख्यतया अमेरिका भ्रमण, पर्यटन र व्यापारिक प्रयोजनका लागि बी–१ र बी–२ भिसा आवेदन दिने नागरिकमा लागू हुनेछ। दक्षिण एसियाबाट नेपाल, बंगलादेश र भुटान यस सूचीमा छन्। अफ्रिकाका अधिकांश मुलुकसहित विश्वभरका ५० देशका नागरिक यसमा पर्छन्।
अमेरिकाले भिसा अवधि सकिएपछि पनि गैरकानुनी रूपमा बस्ने प्रवृत्ति (भिसा ओभरस्टे) नियन्त्रण गर्न यो व्यवस्था ल्याएको हो। अमेरिकी सरकारी तथ्यांकले भिसा अवधि नाघेर बसेका व्यक्तिलाई स्वदेश फिर्ता गर्न प्रतिव्यक्ति करिब १८ हजार अमेरिकी डलर खर्च हुने देखाएको छ।
