सप्तरीमा साउन १४ गते रातिदेखि जारी कर्फ्यु कायमै छ। जिल्ला प्रशासन कार्यालय राजविराजले अत्यावश्यक सामग्री खरिद गर्न आज बिहान ७ देखि ११ बजेसम्म कर्फ्यु खुकुलो पारेको छ।
तोकिएको समयपछि कर्फ्यु पूर्ण रूपमा पालना गर्न र शान्ति सुरक्षा कायम राख्न प्रशासनले आग्रह गरेको छ। ११ बजेपछि हुलदंगा वा अशान्ति फैलाए कानुन बमोजिम कारबाही हुनेछ।
पाँच जनाभन्दा बढी भेला भई उछृङ्खल गतिविधि गरेमा कारबाही हुने जिल्ला प्रशासन कार्यालय सप्तरीले जनाएको छ।
गत साउन १४ गते राति सुनसरीबाट सुरु भएको साम्प्रदायिक दंगाका कारण सप्तरीको विभिन्न स्थानमा कर्फ्यु लगाइएको थियो। बोदेबरसाईनमा साउन १४ गते राति १० बजेदेखि र राजविराजमा साउन १५ गते बिहान ८ बजेदेखि कर्फ्यु आदेश जारी गरिएको थियो।
कार्यालयको अनुमतिमा सद्भाव ¥याली निकाल्न पनि कर्फ्यु आदेश केही खुकुलो पारिएको छ। प्रमुख जिल्ला अधिकारी श्याम कृष्ण थापाले शान्ति सुरक्षा कायम राख्न प्रशासन प्रतिबद्ध रहेको बताए।
