NM Khabar 2 August 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

स्थानीयलाई जलविद्युत सेयर अंकित मूल्यमै दिन इप्पानको माग

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इप्पान) ले जलविद्युत आयोजनाबाट प्रत्यक्ष प्रभावित स्थानीयलाई सेयर अंकित मूल्यमै दिनुपर्ने माग गरेको छ। केही कम्पनीले प्रिमियम मूल्यमा सेयर जारी गर्नेबारे छलफल गरिरहेको विषयमा इप्पानले ध्यानाकर्षण गराएको छ। यसले स्थानीयको पहुँच सीमित हुने र आयोजना-समुदाय सम्बन्धमा नकारात्मक असर पर्ने भन्दै इप्पानले अंकित मूल्यमै दिन आग्रह गरेको छ।
Sunita Rai
Sunita Rai
2 August 2026, 5:33 pm १ मिनेट पढाइ
आकार:
जलविद्युत सेयर
Share:

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले जलविद्युत आयोजनाबाट प्रत्यक्ष प्रभावित स्थानीयवासीलाई निष्कासन गरिने सेयर अंकित मूल्य अर्थात् प्रति कित्ता एक सय रुपैयाँमै उपलब्ध गराउनुपर्ने माग गरेको छ ।

आइतबार एक प्रेस विज्ञप्ति जारी गर्दै इप्पानले केही प्रवर्द्धक कम्पनीहरूले स्थानीय प्रभावितका लागि प्रिमियम मूल्यमा सेयर निष्कासन गर्ने विकल्पबारे छलफल गरिरहेको विषयप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

धितोपत्र दर्ता तथा निष्कासन नियमावली, २०७३ को नियम ९ (४) अनुसार स्थानीयलाई लाभान्वित गराउने उद्देश्यले १० प्रतिशत सेयर दिने कानुनी प्रबन्ध रहेको स्मरण गराउँदै इप्पानले सोही अनुसार अंकित मूल्यमै सेयर दिन सम्पूर्ण सदस्यहरूलाई अनुरोध गरेको छ ।

इप्पानका अनुसार जलविद्युत आयोजना निर्माणका क्रममा जग्गा उपलब्ध गराउने, वातावरणीय तथा सामाजिक प्रभाव सहने र निर्माण अवधिभरका असुविधा व्यहोर्ने स्थानीय समुदायलाई आयोजनाको वास्तविक साझेदार बनाउनु आवश्यक छ ।

यदि स्थानीयलाई प्रिमियम मूल्यमा सेयर निष्कासन गरिएमा उनीहरूको पहुँच सीमित हुने, अपनत्वको भावना कमजोर हुने र आयोजना र समुदायबीचको विश्वासको सम्बन्धमा नकारात्मक असर पर्ने ठहर इप्पानले गरेको छ । अंकित मूल्यमा सेयर उपलब्ध गराउँदा स्थानीय स्तरमा सहयोग र सहकार्य सुदृढ हुने, सामाजिक विवाद र अवरोधहरू न्यून हुने तथा आयोजनाहरू समयमै सम्पन्न गर्न सहज वातावरण निर्माण हुने विश्वास विज्ञप्तिमा व्यक्त गरिएको छ ।

इप्पानले नेपाल सरकार र सम्बन्धित नियामक निकायहरूलाई स्थानीय प्रभावितको हित र आयोजनाको दीर्घकालीन स्थायित्वका लागि अंकित मूल्यमा सेयर उपलब्ध गराउने नीतिलाई निरन्तरता दिन आग्रह गरेको छ ।

साथै, साधारण सेयर निष्कासन प्रक्रिया लामो समयदेखि प्रभावित हुँदा प्रवर्द्धकहरूले समस्या भोगिरहेको तर्फ ध्यानाकर्षण गराउँदै इप्पानले यस प्रक्रियालाई सरल, पारदर्शी र समयबद्ध बनाउन माग गरेको छ ।

इप्पानका अध्यक्ष मोहनकुमार डाँगीले सेयर निष्कासनमा भइरहेको ढिलाइ समाधानका लागि समयमै सेयर निष्कासन गर्ने परिपाटी विकास गर्न सरकार र सरोकारवाला निकायहरूसँग विशेष आग्रह गरेका छन् ।

Sunita Rai

Sunita Rai

संवाददाता · NM Khabar

सुनिता राई NM खबरकी अर्थ संवाददाता हुन्। नेपाल राष्ट्र बैंकका नीतिहरू, शेयर बजार, विदेशी मुद्रा सटही दर र व्यापार सन्तुलनका विषयमा उनको गहिरो बुझाइ छ। पूर्वाञ्चल विश्वविद्यालयबाट अर्थशास्त्रमा स्नातक गरेकी उनी वित्तीय नीति र बैंकिङ क्षेत्रको विश्लेषणमा सक्रिय छिन्।

सम्बन्धित समाचार