अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले २० वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) हरूसँग अर्थतन्त्रको सुस्तता चिर्न र लगानीको वातावरण सुधार गर्न ठोस उपाय मागेका छन्। मंगलबार भएको छलफलमा उद्यमीको विश्वास बढाउने, लगानी विस्तार गर्ने र उत्पादन वृद्धि गर्ने विषयलाई प्राथमिकता दिइएको थियो।
अर्थमन्त्री वाग्लेले यो भेटघाटलाई अर्थतन्त्रलाई पुनः गति दिने साझा अभियानको अर्को चरणका रूपमा लिन बैंक प्रमुखहरूलाई आग्रह गरे। निजी क्षेत्रका प्रतिनिधिसँग संवादपछि वित्तीय प्रणालीका नेतृत्वकर्ताहरूसँग छलफल गरिएको उनले बताए। उत्पादन, लगानी, बचत, वित्तीय विश्वास र आर्थिक गतिविधिको केन्द्रमा बैंकिङ प्रणाली रहेको उल्लेख गर्दै उनले बैंकहरूले अर्थतन्त्रको वास्तविक अवस्था र बजारको मनोविज्ञान बुझ्ने बताए।
“बैंकमा बचतकर्ता, उद्यमी, किसान, लगानीकर्ता र नयाँ व्यवसाय सुरु गर्न चाहने युवा सबै जोडिएका हुन्छन्। अर्थतन्त्रको वास्तविक मनोविज्ञान, बजारको आत्मविश्वास, लगानीकर्ताको सोच र भविष्यप्रतिको अपेक्षा सबैभन्दा स्पष्ट रूपमा बैंकरले महसुस गरेका हुन्छन्,” मन्त्री वाग्लेले भने।
उनले सरकारले बजेटमार्फत नेपालको आर्थिक रूपान्तरणका लागि स्पष्ट दिशा तय गरेको दाबी गर्दै त्यसको प्रभावकारी कार्यान्वयनमा केन्द्रित रहेको बताए। बजेट कार्यान्वयनका क्रममा देखिएका समस्या समाधान गर्न बैंकिङ क्षेत्रको अनुभव र सुझाव लिन छलफल गरिएको उनको भनाइ थियो।
छलफलमा मन्त्री वाग्लेले बैंकिङ प्रणालीमा रहेको अधिक तरलता उत्पादनशील क्षेत्रमा किन रूपान्तरण हुन नसकेको, ब्याजदर न्यून हुँदासमेत कर्जाको माग किन बढ्न नसकेको र व्यवसायी लगानी विस्तार गर्न किन हिच्किचाइरहेका छन् भन्ने विषय उठाएका थिए।
उनले बैंकिङ क्षेत्रबाट उत्पादनशील क्षेत्रमा कर्जा प्रवाह बढाउन आवश्यक संरचनागत सुधार, मौद्रिक नीति, नियमन तथा सुपरीवेक्षणमा नयाँ दृष्टिकोण र अर्थ मन्त्रालय, नेपाल राष्ट्र बैंक तथा बैंकिङ क्षेत्रबीचको समन्वय प्रभावकारी बनाउने उपायबारे सुझाव मागेका थिए।
मन्त्री वाग्लेले छलफल समस्या पहिचानमा मात्र सीमित नरहने भन्दै समाधान, समयसीमा र जिम्मेवारीसहित अघि बढ्ने बताए। आवश्यकताअनुसार कानुनी, प्रक्रियागत र संस्थागत सुधार गर्ने प्रतिबद्धता पनि उनले व्यक्त गरे।
“कानुनी सुधार जहाँ आवश्यक छ, त्यहाँ कानुन सुधार्नेछौँ। प्रक्रियागत समस्या छन् भने प्रक्रिया नै बदल्नेछौँ। संस्थागत समन्वय आवश्यक छ भने त्यसलाई बलियो बनाउनेछौँ,” उनले भने।
सरकार र बैंकिङ क्षेत्रबीचको सम्बन्ध नियामक र नियमन हुने निकायको मात्र नभई साझा राष्ट्रिय जिम्मेवारीको सम्बन्ध भएको उनको भनाइ थियो। आर्थिक वृद्धि, लगानी विस्तार, रोजगारी सिर्जना र वित्तीय स्थायित्व सरकार तथा बैंकिङ क्षेत्रको साझा उद्देश्य रहेको उनले बताए।
बैंकरहरूले दिएका सुझावलाई कार्यान्वयनको स्पष्ट रोडम्यापमा रूपान्तरण गर्ने प्रतिबद्धता पनि अर्थमन्त्री वाग्लेले व्यक्त गरेका छन्।
